राज्यसँग नागरिकका गुनासा स्वभाविक र निरन्तर रहिरहन्छ । नागरिकका अपेक्षा पूरा गर्नु, पूरा गर्ने प्रयास गर्नु राज्यको दायित्व हो । राज्य र नागरिकबीच आपसी सहकार्य, साथ र सहयोग रही रहनु पर्छ । आपसमा भएका असमझदारीलाई पनि बुझ्ने, बुझाउने प्रयास गरिरहनुपर्छ । तर, राज्य जिम्मेवार नहुँदा, नागरिकले धैर्यता गुमाउँदा हदैसम्मको दुर्घटना हुन सक्छ । हो यस्तै दुर्घटना भदौ २३ र २४ गते दुइ दिनमा भयो । नेपालको इतिहासमै यी दुइ दिन अविस्मरणीय हुनेछ । आधुनिक प्रविधिको युगमा जन्मिएर प्रविधिमैत्री युवा पुस्ता अर्थात् जेन जी पुस्ताले भदौ २३ गते देशव्यापी प्रदर्शन गर्यो । भ्रष्ट्राचारविरुद्ध जेन जी युवाले गरेको प्रदर्शनका क्रममा पहिलो दिन नै अकल्पनीय दुर्घटना भयो । काठमाडौंमा १७ जना र इटहरीमा २ जना गरी १९ जनाको मृत्यु भयो । शनिबारसम्ममा ५४ जनाको मृत्यु भइसकेको छ । अझै केही बेपत्ता छन् भने केही गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् ।
युवा पुस्ताको आन्दोलनमा यस किसिमको क्षतिको आँकलन कसैले पनि गरेको थिएन । पहिलो दिन नै ठूलो क्षति भएपछि भदौ २४ गतेको प्रदर्शन हिंसात्मक बन्यो । भदौ २३ गते प्रहरीको कमजोरी ठहर गर्दै सरकारले प्रहरीलाई संयमित हुन निर्देशित गरेपछि प्रदर्शनकारीले राज्यका महत्वपूर्ण भौतिक संरचनाहरुमा ठूलो क्षति पुर्यायो । पहिलो दिनको मानवीय क्षति र दोस्रो दिनको भौतिक क्षतिको तुलना नै नहुने स्थिति रह्यो । मानवीय र भौतिक दुबै हिसाबले ठूलो क्षति भयो । अझ सरकारी कागजातका हिसाबले भएको क्षति उत्तिकै अकल्पनीय छ । आधुनिक नेपालको इतिहासमै यस किसिमको क्षति नभएको विश्लषण गरिँदै छ ।
सेना र प्रहरीको कडा सुरक्षा घेरामा रहने राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सिंहदरबार, संघीय, प्रदेश सरकारका मन्त्रालय, सरकारी कार्यालय, ठूला होटल, व्यवसायमा ठूलो क्षति भयो । पहिलो दिनको मानवीय क्षति र त्यसपछि हुन सक्ने प्रतिशोधको ढिलो गरी आँकलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसक्दा पनि नागरिकको आक्रोश थामिएन । भदौ २४ गते अबेर रातीसम्म पनि सार्वजनिक, निजी भौतिक सम्पत्तिमाथि आक्रमण जारी रह्यो । भदौ २४ गते राती १० बजेबाट नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएपछि शान्ति, सुव्यवस्थामा नियन्त्रण भए पनि त्यतिबेलासम्म ठूलो क्षति भइसकेको थियो ।
देशमा सुशासन कायम हुनुपर्ने, भ्रष्ट्राचार अन्त्य हुनुपर्ने भन्दै सडकमा उत्रिएका जेन जी पुस्ताले सरकार नै परिवर्तन गर्ने स्थितिमा केही समय त्रास र संशयको अवस्था पनि रह्यो । यो अकल्पनीय घटना कसरी भयो ? देशी–विदेशी शक्तिको अस्वभाविक चलखेल पो हो कि ? यसअघिका विभिन्न कालखण्डमा नेपालीको बलिदानीबाट हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्र नै मासिने हो कि भन्नेसम्मको त्रासका बीच शुक्रबार राती जेन जी युवाको सहमतिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति समेत घोषणा गरिएको छ ।
मुलुकको शासन सत्तामा बसेकाहरुले नागरिकका आवाजलाई नसुन्दा, नागरिकका आधारभूत आवश्यकता पूरा नगर्दा, भ्रष्ट्राचार र बेथितिलाई संरक्षण गरिरहँदा ढिलो–चाँडो नागरिकले सत्ताच्युत गर्नेछ भन्ने उदाहरण समेत बन्ने गरी अकल्पनीय दुर्घटना हुनुलाई सुखद् र दुखद् दुवै पक्षबाट हेर्न सकिन्छ । आजको समयमा पनि नागरिकको भावना बुझ्न नसक्ने शासकलाई च्युत गरिएको अवस्थालाई हेर्ने हो र आगामी दिनमा मुलुकको सकारात्मक परिवर्तन निश्चित हुन्छ भने यो दुर्घटनालाई पनि सुखद् मान्न सकिन्छ । यदि यतिका बलिदानीका बीच पनि मुलुकले सही दिशा लिन सकेन भने यो भन्दा दुखद् अरु केही हुनेछैन । यसर्थ भदौ २३ र २४ मा जे भयो त्यसलाई आगामी दिनमा सार्थक सावित गर्ने गरी मुलुक र नागरिकको हितमा काम गर्ने अठोटसहित सिंगो मुलुक अग्रसर हुने अवस्था रहोस् । यो अकल्पनीय दुर्घटनाबाट आगामी दिनमा दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्दै सकारात्मक उपलब्धीलाई सुनिश्चित गर्न सबैको साथ, सहयोग र सहकार्य रहोस् ।
