Home मुख्य समाचार ‘जिब्रो छेड्ने’लाई प्रोत्साहन रकम उपलब्ध गराइने

‘जिब्रो छेड्ने’लाई प्रोत्साहन रकम उपलब्ध गराइने

हेटौँडा : बागमती प्रदेश सरकारले विस्का जात्रा ‘जिब्रो छेड्ने’ जात्रा प्रवद्र्धनका लागि जिब्रो छेड्नेलाई उपचार सहायता रकम उपलब्ध गराउने भएको छ । भक्तपुरको ऐतिहासिक एवम् साँस्कृतिक महत्वको ‘जिब्रो छेड्ने जात्रा’को संरक्षणका लागि प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई स्वास्थ्य उपचार तथा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

जिब्रो छेड्ने परम्पराको निरन्तरताका लागि काम गर्ने व्यक्तिहरुको संख्या कम हुँदै गएको र निकट भविष्यमा यो जात्रा लोप हुन सक्ने खतरा रहेकाले प्रोत्साहन उपलब्ध गराउने निर्णय गरिएको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले जानकारी दिनुभयो । ऐतिहासिक जात्रालाई लोपोन्मुख साँस्कृतिक सम्पदाको रुपमा संरक्षण गर्न मन्त्रालयले उक्त निर्णय गरेको उहाँले बताउनुभयो ।

मन्त्रालयको निर्णय अनुसार, भक्तपुरमा वर्षमा २ पटक आयोजना हुने ‘येँया पन्हीया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ मा सहभागी भई जिब्रो छेडाउने व्यक्तिलाई उक्त प्रोत्साहन रकम प्रदान गरिनेछ । सो रकम व्यक्तिको स्वास्थ्य उपचार तथा परम्परालाई निरन्तरता दिए वापत प्रोत्साहनका लागि उपलब्ध उहाँले बताउनुभयो । सो कार्यक्रमका लागि चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरिए बमोजिम २ लाख रुपैयाँ उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठका अनुसार प्राचीनकालदेखि चल्दै आएको यो जात्राले देशमा रोगव्याधि नलाग्ने, बालीनाली सप्रिने र अनिकालजस्ता प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वास रही आएको छ । तर, जात्रा सञ्चालनमा आर्थिक अभाव हुनुका साथै जिब्रो छेडाउने व्यक्तिको कमीले गर्दा यो परम्परा संकटमा पर्दै गएको उहाँले बताउनुभयो ।

प्रोत्साहन रकम उपलब्ध गराउने विषय दीर्घकालीन दायित्वसँग जोडिने भएकाले प्रस्तावलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउन आर्थिक मामिला तथा योजना मन्त्रालयबाट समेत स्वीकृत गराइसकेको छ ।

Exit mobile version