Home मुख्य समाचार मुख्यमन्त्री बानियाँ र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता

मुख्यमन्त्री बानियाँ र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता

कार्यसम्पादन करार सम्झौतापत्र आदानप्रदान गर्नुहुँदै मुख्यमन्त्री बानियाँ र मन्त्री बिनु रायमाझी ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रदेश सरकारका मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मुख्यमन्त्री बानियाँले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा प्रदेशका १३ मन्त्रीसँग नतिजा सूचकमा आधारित कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो ।

प्रदेश सुशासन ऐन २०७७ को दफा १९ तथा प्रदेश नियमावली २०७७ को नियम ९ बमोजिम मुख्यमन्त्री बानियाँले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा मन्त्रीहरूले सम्पादन गर्ने कार्यहरु र जिम्मेवारीका बारेमा भएको कार्यसम्पादन करार सम्झौतामा अनुगमन तथा निरीक्षण, कार्यक्रम कार्यान्वयन, वित्तीय खर्च, गुनासो फछ्र्यौट, तथ्यांकहरु, नागरिकका गुनासा सुनुवाई, मन्त्रालय र मातहत निकायका लागि आवश्यक नीति निर्माण लगायतका सूचकहरु निर्धारण गरिएको छ । उक्त सूचकका आधारमा मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकन हरेक ३ महिनामा गर्ने योजना रहेको छ ।

सम्झौतापछि कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले कार्यसम्पादन सम्झौताको आधारमा जति काम गर्न सक्यो त्यति नै संघीयता पनि बलियो हुने बताउनुभयो । मन्त्री पौडेलले संघीयताको बारे आइरहेको नकारात्मक टिप्पणीहरुलाई भाषणले भन्दा पनि कामले जवाफ दिने पनि बताउनुभयो । सम्झौतामा उल्लेख भएको बाहेक जनअपेक्षा अनुसारका अतिरिक्त काम गर्ने मन्त्री पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यसैगरी मुख्यमन्त्री बानियाँले राम्रो काम गर्नेलाई पार्टी र जनताले निरन्तरता दिने व्यवस्था लोकतन्त्रमा मात्रै सम्भव भएको बताउनुभयो । जनताको हितमा सुशासन कायम हुने गरी पारदर्शिता र जवाफदेही ढंगले काम गर्न उहाँले मन्त्रीहरुलाई निर्देशन दिनुभयो । मुख्यमन्त्री बानियाँले सबै मन्त्रीहरुले आफ्नो कार्यविभाजन अनुसार काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो । विगतको सरकारको राम्रो कामहरुलाई निरन्तरता दिएर हुन बाँकी रहेका कामहरुलाई नियम कानुन बनाएर यथाशीघ्र रुपमा गर्नुपर्नेमा उहाँले बताउनुभयो ।

Exit mobile version