Home मुख्य समाचार लघु उद्यममा महिलाको आकर्षण बढ्दो

लघु उद्यममा महिलाको आकर्षण बढ्दो

लघु उद्यममा सहभागी महिलाहरु काष्ठ कलाका सामान निमार्ण गर्दै ।

हेटौंडा : हेटौंडा–५, पिप्लेकी बिष्णुकुमारी राई हरेक दिन बिहान घरको काम सकेपछि वडाको सामुदायिक वन उपभोक्ता समूहको भवनमा जानुहुन्छ र काठका टुक्राहरुलाई मेसिनद्वारा काट्नुहुन्छ । चिल्लो बनाई ज्यावलको मद्दतले बुट्टा पनि हाल्नुहुन्छ । अब तयार हुन्छ– सानो काठको ठेकी, जुन ठेकी पछिल्लो समय मकवानपुर जिल्लाभित्र औपचारिक कार्यक्रमका आयोजकले अतिथिलाई मायाको चिनोको रुपमा दिने गर्दछन् ।

बिष्णुकुमारी मात्र नभई त्यहाँ यस्तै ठेकी बनाउन ७/८ जना अन्य महिलाहरु पनि सक्रिय रहेका देखिन्छन् । कोही काठलाई काट्ने, कोही काठलाई आकार दिने त कोही बुट्टा दिने काम गरिरहेका हुन्छन् । यी काम हुने ठाउँ विष्णुकुमारी र साथीहरुले सञ्चालन गरिरहेको काठको ठेकी तथा फ्रेम बनाउने लघु उद्योग हो ।

२०७२ सालमा सामुदायिक वन उपभोक्ता महासंघले काठको काम गर्ने तालिम दिएपछि बिष्णकुमारी उहाँका साथीहरुले केही समय काम गरे । तर, बिचमा तालिम लिएका महिलाहरुले पुरुषले गर्नुपर्ने काम महिलालाई असहज रहेछ भन्दै छाड्दै गए । तालिमको २ वर्षपछि बिष्णुकुमारीले ३ जना साथीहरुसँग मिलेर आर्थिक उपार्जन गर्नेगरी उद्योगमार्फत् काम गर्ने निर्णय गर्नुभयो । २०७४ सालमा बिष्णुकुमारीकै नाममा लघु उद्योग दर्ता पनि भयो । सञ्चालक समिति बनाएर विष्णुकुमारीकै अध्यक्षतामा लघु उद्योगको रुपमा उद्योग दर्ता एवम् सञ्चालन गरियो । त्यसपछि निरन्तर उहाँहरु यही काममा लागिरहनु भएको छ ।

उहाँहरुले तयार पारेका काठका ठेकी र फोटो फ्रेम ३ सय रुपैयाँदेखि एक हजार २ सय रुपैयाँसम्म बिक्री हुने गर्दछ । मासिक १ सय ५० वटादेखि ३ सय वटासम्म काठको ठेकी तथा फ्रेम निर्माण गरी बिक्री वितरण गर्दै आएका उनीहरु मासिक १ लाख रुपैयाँभन्दा माथि कमाई गर्दछन् । त्यसैबाट कर तिरेर सबैजनालाई भागबण्डा हुने गर्दछ । अत्यधिक कार्यक्रम हुने सिजनमा मासिक बिक्रीबाट २ लाखभन्दा माथिको कमाइ हुने गर्दछ ।

घरको काम गरेर खेर गइरहेको समयमा सिप प्रयोग गरी आर्थिक उपार्जनमा लाग्दा परिवारलाई आर्थिक संकटमा सहयोग पुगेको बिष्णुकुमारी बताउनुहुन्छ । ‘सुरुको दुई वर्ष उद्योगको कर तिर्न समस्या प¥यो, तर हामीले हार मानेनौं, निरन्तर काम गरिरह्यौं र बिस्तारै नाफातर्फ जान थालेको महसुस हुन थाल्यो’, बिष्णुकुमारी भन्नुहुन्छ– ‘अहिले त केही नभए पनि महिनामा १२–१५ हजार एक जनाको भागमा बस्छ ।’

स्थानीय सरकारले साना उद्यमीका विषयमा नजरअन्दाज गरेको बिष्णुकुमारीको गुनासो छ । अहिलेसम्म हातैले ज्यावलमार्फत् काम गरिरहेकामा अब परिवर्तन चाहेको भन्दै उहाँ भन्नुहुन्छ–‘हामीलाई नयाँ समयसापेक्ष आधुनिक उपकरण र तालिम दुबै सहयोग चाहिएको छ । यसो भए उद्योगको क्षमता बढ्थ्यो । तर, स्थानीय सरकारले यसमा कतिपटक माग गरे पनि सुनुवाई नै भएन ।’ काठमाडौंसम्म आफ्ना उत्पादनले बजार लिन थालेपछि उहाँलाई उद्योगको क्षमता बढाउनुपर्छ भन्ने लागेको छ ।

बिष्णुकुमारी राईजस्तै हेटौंडा–११ की सूचना श्रेष्ठले अचार उत्पादन गरी बेच्न थाल्नुभएको डेढ दशक भइसक्यो । उहाँले एकलरुपमै २०७१ सालमै घरेलु उद्योग दर्ता गरी सञ्चालन गरिरहनुभएको छ । अहिले पनि सूचना एक्लैले लगानी र व्यवस्थापन गरेर अचार बनाउने काम गर्दै आउनुभएको छ । अचारका लागि सामग्रीहरु, कामदार खर्च र करलगायत अन्य खर्च कटाउँदा मासिक ४० देखि ५० हजार रुपैयाँ नाफा भएको उहाँ बताउनुहुन्छ । उहाँले बनाउनुभएको अचार हेटौंडामै बिक्री भइरहेको छ भने कहिलेकाहीँ विदेश जानेहरुले कोसेलीको रुपमा लैजाने गरेका छन् ।

जिल्लाभित्रै आप्mनो उत्पादनले बजार पाएपछि बाहिरी बजारको खोजी नगर्नुभएकी सूचना यो पेशाबाट सन्तुष्ट रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘अहिले धेरै महिलाहरु उद्यम गर्न उत्साहित देखिन्छन् । तर तत्कालै नाफा खोजीहाल्ने र धैर्यता राख्न नसकेको कारण एक दुई वर्षमै उद्योग बन्द गरिहाल्नुहुन्छ ।’ उद्योगबाट फाइदा लिन केही समय धैर्यता राख्नुपर्ने उहाँको सुझाव छ ।

उद्योग क्षेत्रमा महिलाको सक्रियता बढेको छः उद्योग तथा वाणिज्य कार्यालय
एक वर्षमा मकवानपुर जिल्लामा ४ सय १८ नयाँ उद्योग दर्ता भएकोमा पुरुषहरुले २ सय १६ वटा उद्योग दर्ता गरेका छन् भने महिलाहरुले २ सय २ वटा उद्योग दर्ता गराएका छन् । केही वर्षअघिसम्म उद्योग दर्ता शुल्कमा छुट पाउने कारणले महिलाको नाममा उद्योग दर्ता गर्ने परिपाटी भएकोमा पछिल्ला वर्षमा आफैं उद्योग खोल्न उत्साहित हुँदै महिलाहरु आउने गरेको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख उद्योग अधिकृत रामप्रसाद भुषालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले कतिपय महिलाहरु समूहमा आउने गरेको र कतिपयले भने एकल नाममा उद्योग दर्ता गर्न आउने गरेका छन् । उनीहरु प्रायः घरेलु उद्योगमा दर्ता हुने गरेका छन् भने केहीले मात्र मध्यम उद्योगको रुपमा उद्योग सञ्चालन गरेका छन् ।

पछिल्लो समय आर्थिकरुपमा आत्मनिर्भर बन्दै गएका महिलाहरुले आफ्नो सिप र क्षमताअनुसारको उद्योगहरु स्थापना गर्दै गइरहेका छन् । प्रदेश र स्थानीय सरकारले समयसापेक्ष सिप र क्षमता विकास, प्रविधिको हस्तान्तरण र बजारीकरणमा सहयोग गर्ने हो भने महिलाहरुमात्र होइन, हरेक बेरोजगार व्यक्तिले लघु उद्यम सञ्चालन गर्न प्रोत्साहित हुने देखिन्छ ।

Exit mobile version