Home मुख्य समाचार लागूऔषध दुव्र्यसनीलाई उपचारको खाँचो

लागूऔषध दुव्र्यसनीलाई उपचारको खाँचो

हेटौँडा : देशभरका लागूऔषध दुव्र्यसनीहरुमध्ये बागमती प्रदेशमा मात्रै ३५ प्रतिशत दुव्र्यसनीहरु रहेका रिकभरिङ नेपालले जानकारी दिएको छ । रिकभरिङ नेपालद्वारा आइतबार आयोजत अपराध न्याय प्रणाली र स्वास्थ्य क्षेत्रका सरोकारवालसँगको समन्वय बैठकमा तथ्याङ्क प्रस्तुत गर्दै यस्तो जानकारी दिइएको हो ।

कार्यक्रममा नेपालमा पछिल्लो तथ्याङ्क अनुसार १ लाख ३० हजार ४ सय २४ जना दुव्र्यसनी रहेको विवरण सार्वजनिक गरिएको थियो । कार्यक्रममा लागूऔषध दुव्र्यसनी एक मानसिक समस्या रहेको भन्दै फौजदारी मुद्दा लगाइनु भन्दा स्वास्थ्य क्षेत्रसँग समन्वय गरी उपचारतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले मकवानपुर जिल्ला ट्रान्जिटको रुपमा मात्र नभई पछिल्लो समय लागूऔषध उत्पादन तथा व्यवसाय गर्ने स्थानको रुपमा परिवर्तन भएको बताउनुभयो ।

उहाँले दैनिक समातिएकाहरुमध्ये ८० प्रतिशत लागूऔषधको मामलामा भएको उल्लेख गर्नुहुँदै लागूऔषध नियन्त्रणका लागि समन्वय गर्न तयार रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारहरुलाई केही बजेट छुट्याएर नै लागूऔषधको विरुद्धमा जनचेतनामूलक कार्यक्रम गर्न समेत सुझाव दिनुभएको छ । रिकभरिङ नेपालका केन्द्रीय सदस्य सौजन डीसीको सभाध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्य तथा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कँडेल, हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुदीप तिवारी, अधिवक्ता अप्सरा बस्नेत, हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास शाखा प्रमुख गंगा चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version