Home मुख्य समाचार कति पटक प्रधानमन्त्री भएपछि मुलुक बन्दो रै छ ?

कति पटक प्रधानमन्त्री भएपछि मुलुक बन्दो रै छ ?

नेपालका तीन शीर्ष नेता शेरबहादुर, प्रचण्ड र केपी ओलीका पछिल्ला अभिव्यक्ति अत्यन्तै घत लाग्दो छ । शेरबहादुर भन्नुहुन्छ, ‘जनताले नै हामीलाई पटक–पटक चुनिरहन्छ त मैले के गरौँ ?’ अझ प्रचण्ड भन्दै थिए, ‘मैले छोडिदिए भने केराको खम्बा जस्तो गल्याम्म ढल्छ ।’ त्यसको प्रतिवाद गर्दै जनार्दन शर्माले भनेका थिए, ‘आकाश थामेको भ्रममा कोही नपरोस् ।’ यो कटाक्ष प्रचण्डप्रति नै थियो । केपी ओलीले त झन् ‘२० वर्षसम्म कसैले नचिताए हुन्छ’ भनेर दावी गरिसकेका छन् । यसैबीच विद्यादेवी भण्डारी नेतृत्वको सम्भावित चुनौतीलाई पनि रोकिएको देखियो ।

आज देश यहि तीन नेताको वरपर घुमेको पनि तीन दशक पुगिसक्यो । यि तीनैजना नेता पटक–पटक देशको नेतृत्व गरिरहेका छन् । अहिले पनि यिनकै नेतृत्वमा देश छ तर देशको हालत बेहाल छ । मुलुक दिनप्रतिदिन ओरालो लाग्दैछ । जब नेतृत्व परिवर्तनको कुरा आउँछ यि तीन शीर्ष नेता आफ्नो विकल्प नभएको आफूले छोड्दा बर्बाद हुने अभिव्यक्ति दिन्छन् । उमेरले नेटो काटिसकेका यि बृद्धहरू वाईडेन, ट्रम्पको उमेरसँग दाँजेर उमेर केही होईन भन्छन् । नेतृत्व छाड्ने कुनै संकेत देखाउँदैन, पत्रकार जगदिश खरेल भन्दैथिए, ‘अमेरिकामा जर्ज बुश राष्ट्रपति हुँदा शेरबहादुर प्रधानमन्त्री थिए । अहिले अमेरिकामा १० जना राष्ट्रपति फेरिसके, तर नेपालमा शेरबहादुर अझै प्रधानमन्त्री हुने लाइनमै छन् । प्रश्न उठ्छ कति पटक प्रधानमन्त्री भएपछि देश बन्दोरहेछ ?’

तसर्थ जनता परिवर्तन चाहन्छन् । यो यथास्थिती बदल्न चाहन्छन्, तर ठूला दलमा नेतृत्व यति जडवतरूप रहेको छ की त्यस्लाई हल्लाउन किमार्थ सकिँदैन । दोश्रो पुस्ता यस मानेमा निरिह देखिन्छ, यि बुढाहरूकै फेरो समातेर बैतरणी तर्न लालायित छन् । आज भनिँदैछ यि तीनवटा नेता जो सत्ताको केन्द्रमा छन् । तीन दशक नाघ्यो देश झन् भ्रष्ट्राचारको आहालमा डुव्यो । कुनै भ्रष्ट्राचारीलाई यो बीचमा कारबाही भएको देखिएन । जब भ्रष्ट्राचारीलाई कारबाही गर्ने विषय उठ्छ तब यि तीनै नेता एउटै मोर्चामा उभिन्छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा केही भ्रष्टको फाईल खोल्न खोजेको देखियो तर त्यति नै बेला क्यान्टोमेन्टको मुद्दा उठाईन्छ, शेरा दरबारको विषय उठाएर प्रचण्डलाई हामी तीन नेतानै हिन्दी आहानझैं ‘चोर–चोर मौसेरा भाइ हुँ’ भन्न बाध्य पार्छन् । अझ पछिल्लो समय भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेर माओवादीले आफूलाई कांग्रेस एमालेकै समकक्षीमा उभ्याए । यि तीनै दलमा धेरै कुरामा समानता देखिन्छ सत्ता पाएको बेला तीनै दलका नेताहरू र यिन्का निकटवर्तीहरूमाथि भ्रष्ट्राचार, कमिशनखोरी, नातावादको आरोप उस्तै देखिन्छ । यि दलहरू चुनावअघि एक अर्काप्रति कडा आलोचना गर्ने, तर सरकार बनाउन÷जोडतोड गर्न पर्दा मिल्ने । ‘मिलेमतो’ को राजनीति देखिँदै आएको छ । यिनले जनतालाई ठूला वाचा गर्ने तर कार्यान्वयनमा असफलता देखिन्छ । पार्टीभित्रै गुटबन्दी, नेताहरूबीच शक्ति संघर्ष, मन्त्री, आयोग, निगम, योजना वितरण गर्दा नातेदार वा कार्यकर्तामुखी नियुक्तिलाई प्रश्रय दिईन्छ ।

प्रशासन, प्रहरी, न्यायालय, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा हस्तक्षेप छ । दशकौं सत्ता चलाए पनि दीगो विकास, रोजगारी, उद्योगमा ठोस परिवर्तन नदेखिनुको कारण जनतामाझ ‘पुराना दल उस्तै’ भन्ने नकारात्मक छवि प्रवल रुपले बन्दै गएको छ । यी तीनै दलप्रति आमजनताको भावना सकारात्मक नहुँदा नहुँदै पनि फेरी पनि निर्वाचन सधैं यिनले र यिनका दलले किन जित्छन् । यसका केही संरचनागत कारणहरू छन् । पुराना पार्टीहरू (कांग्रेस, एमाले, माओवादी) का जरा गाउँ–गाउँसम्म गहिरो छन् । संगठन, स्रोतसाधन, चुनाव जित्ने मेसिनरी उनीहरूसँग छ । यि दल बाहेक वैकल्पिक नेतृत्व सशक्त देखिएको छैन । केहि नयाँ पुस्ता वा नयाँ दलहरू आए पनि, स्थायी रूपमा जनताको भरोसा जित्ने तहमा पुगेका छैनन् । तसर्थ जनताको मनोविज्ञान नयाँलाई विश्वास गर्ने आधार बनिसकेको छैन । पुरानै पार्टीको नाम, चिनिएको मान्छे भन्नाले सुरक्षित भयौ भन्ने मानसिकता देखिन्छ ।

यस्तो पृष्ठभूमिमा आजको अवस्थामा ठोस, विश्वसनीय विकल्प अझै बनिसकेको छैन । तर जनतामा बढ्दो असन्तोषले भविष्यमा नयाँ नेतृत्व उदाउने सम्भावना भने पक्कै बढाएको छ । यसका लागि नयाँ भन्नेहरूमा नेतृत्व लिन चाहनेहरूले आलोचना होइन, संगठन, विचार र दीर्घकालीन योजनासहित अघि बढ्न जरूरी छ । तिनले स्थानीयस्तरबाटै अभ्यास गर्दै गाउँ, नगर, प्रदेशमा प्रभावकारी काम गरेर आफूलाई प्रमाणित गर्नसक्नुपर्छ । नयाँ दल वा शक्तिले विश्वासयोग्य वातावरण बनाए बल्ल जनताले पुराना दल प्रति नभई नयाा प्रतिको रूझान बढ्थियो नै ।

तसर्थ विकल्प जनताले नै सिर्जना गर्ने हो । मत दिने बेलामा ‘कम्तिमा यो त पुरानो छैन, यो काम गर्न सक्छ’ भन्ने सोच बलियो भएर जान्छ । २०८४ को चुनावमा मतदाताले ‘पुराना अनुहार विरुद्ध नयाँ विकल्प” बीच छनोट गर्ने अवस्था अहिले कै परिस्थिती कायम भैराखे भने त्यो अवस्था सिर्जना हुन सक्छ । त्यतिबेला युवाहरू, सामाजिक सञ्जाल र मध्यम वर्गले निर्णायक भूमिका खेल्न सक्छन् । लामो समयदेखि हामीकहाँ पुरानो दल र पुरानो नेताहरूको प्रभाव हट्न सकेको छैन । वास्तवमा आम जनताको चाहना ठूला दलका यि तीनवटा नेताले बिश्राम लिँदा मुलुक एउटा नयाँ कोर्सतर्फ अघि बढ्ने थियो भन्ने छ । काँग्रेसमा शेखर गगन आए, एमाले माओवादीले नयाँ पुस्तामा नेतृत्व हस्तातरण गरेमा त्यसले राजनीतिमा एकखालको उछाल आउने थियो । तर यि नेता टस का मस छैन । यि नभए आकाश खस्छ भन्ने छ ।

अन्य देशमा नेतृत्वले ड्राईभ गर्न सकेन, डेलिभरी दिन सकेन, जनताको विश्वास गुमेको एकक्षण पनि ती बस्दैनन् तिनले छोड्छन् र नयाँ आउँछ । प्रायः ति दोहोरिँदैनन् । देशको नेतृत्व गर्ने मानिस कुशलताका कारण त्यहाँ पुग्छन् । प्रधानमन्त्री भएका व्यक्ति पार्टी अध्यक्ष भैराख्नु पर्दैन, छिमेकी मुलूक भारतमा नरेन्द्र मोदी कहिले पार्टी अध्यक्ष भएनन् । बरू पार्टी अध्यक्ष भैसकेका नितिन गडकरी, राजनाथहरू उनकै मन्त्रिपरिषद्का सदस्य छन् । ब्रिटेनको उदाहरण हेरौँ, बोरिस जोनसनले बहुमतसहित सरकार चलाइरहँदा समेत पार्टीभित्रै विश्वास गुमाएपछि राजीनामा दिन बाध्य भए । त्यहाँ सांसदहरूले ‘जनताको विश्वास गुमायो भने नेतृत्व परिवर्तन हुन्छ’ भन्ने संस्कार विकास गरेका छन् । फ्रान्समा इमानुएल म्याक्रोनले नयाँ पार्टी बनाएर पुरानो परम्परागत शक्तिलाई हराए । जनताले नयाँ विकल्प रोजे । किनभने पुराना नेताले अपेक्षित काम गर्न सकेका थिएनन् । दक्षिण अफ्रिकामा जेकब जुमा भ्रष्ट्राचारमा फँसेपछि पार्टीभित्रै उनलाई हटाइयो र नयाँ नेतृत्व अघि सारियो । नेपालमा कुनैपनि मुद्दा, विवाद वा राजनीतिक गल्ती हुँदा त्यसलाई ढाकछोप गर्ने प्रवृत्ति प्रवल छ । तर थाइल्याण्डमा भने भर्खरै मात्रै संवैधानिक अदालतले प्रधानमन्त्री स्रेत्था थाभिसिनलाई पदच्युत गरिदियो (२८ अगस्ट २०२५) । कारण के मात्रै हो भने, उनले कम्बोडियाका एक नेतासँग गरेको फोन कल लीक भयो, जसमा उनलाई ‘अंकल’ भनेर सम्बोधन गरेका थिए । यति सानो विषयलाई समेत नैतिकता र पदको मर्यादासँग जोडेर प्रधानमन्त्री पदबाट हटाइन्छ भने, हाम्रो देशमा ठूला भ्रष्ट्राचार, शक्ति दुरुपयोग र जनतामाथि अन्याय हुँदा समेत किन नेताहरू जिम्मेवार ठहरिँदैनन् भन्ने प्रश्न गम्भीर छ ।

हामीकहाँ पार्टी नेतामाथि आन्तरिक चुनौती दिने संस्कार नै छैन । सरकार र पार्टी दुबैमा आफ्नो नियन्त्रण कायम राखी राख्ने लिप्साले राजनीतिलाई प्रदूषित बनाइराखेको छ । तसर्थ दोष यि नेताहरूको पनि छैन किनभने जसरी जिते पनि यि चुनाव जितेरै आएका हुन् । जनता चनाखो नहुने हो भने पटक–पटक यिनले नै चुनाब जित्छन्, अर्जून पराजुलीको कविता जस्तो हामीले चो¥यो भन्दै कराउँछौ तर भोट चाहि चोरलाई हाल्छौ, अनि आशा चाहीँ नचोरोस् भनेर गर्छौ । जनताले जबसम्म लोभले, पापले, मासुभातले भोट हाल्छन् नतिजा आउने यस्तै हो । तसर्थ परिवर्तन चाहने हो आफ्ना सन्ततीको भविष्य सुनिश्चित गर्ने हो, जनताको मुहारमा हासो ल्याउने हो भने आउदो निर्वाचनमा विवेकले भोट हालौ ।

Exit mobile version