हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । भदौ ३ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
आइतबार भएको महिलातर्फको अन्तिम खेलमा स्नातक तहको टोलीले कक्षा ११–१२ को टोलीलाई ३२–६ अंकले पराजित गर्दै प्रथम स्थाना हासिल गर्न सफल भयो । पुरुषतर्फ बीआइएमको टिमले व्यवस्थापन ११–१२ कक्षाको टिमलाई ६६–६४ अंकले हराउँदै प्रथम स्थाना हासिल गर्न सफल भयो । प्रतियोगिताका विजेता टोलीले ७/७ हजार रुपैयाँसहित शिल्ड प्राप्त गरेका छन् भने उपविजेता टोलीले नगद ५/५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरुषतर्फ बीआइएमका सक्षम गुरुङले नगद ३ हजार रुपैयाँसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे । महिलातर्फ स्नातक तहका सरिस्मा श्रेष्ठ र पूजा योन्जन संयुक्तरुपमा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले पनि नगद ३ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका मस्ट इम्प्रुभ खेलाडी विधान श्रेष्ठले प्रमाणपत्रसहित २ हजार नगद प्राप्त गरेका छन् ।
क्याम्पसका प्रमुख पुरनबहादुर जोशी र सहायक क्याम्पस प्रमुख राम पण्डित खनालले खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा क्याम्पसका कक्षागत र तहगत टिमको सहभागिता थियो । हेटौंडा स्कूल अफ म्यानेनमेन्टले शैक्षिक उत्कृष्टासँगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई निरन्तर प्रोत्साहन गर्दै विद्यार्थीहरुको समग्र विकासमा जोड दिँदै आएको छ ।
