हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकाले फुटबल खेलाडी छनोट प्रक्रिया सञ्चालन गरिरहेको छ । फुटबल एकेडेमी सञ्चालन गर्ने तयारी गरिरहेको गाउँपालिकाले १० देखि १४ वर्ष उमेर समूहका खेलाडीहरु छनोट सुरु गरेको हो ।
त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक मेघराज केसीको टोलीले खेलाडी छनोट गर्दैछ । पालिकाका ९ वटै वडाबाट खेलाडी छनोट गरिनेछ । हालसम्म ५ वटा वडाबाट खेलाडी छनोट भइसकेको प्रशिक्षक केसीले बताउनु भयो । भदौ ८ गतेसम्म वडास्तरीय छनोट गरिनेछ । त्यसपछि ९ गते महिला खेलाडी र १० र ११ गते पुरुष खेलाडीहरुको अन्तिम छनोट झुरझुरेस्थित रंगशालामा गरिनेछ । अन्तिम छनोटबाट ७५ जना छनोट गरिने प्रशिक्षक केसीले जानकारी दिनुभयो ।
अन्तिम चरणमा छनोट भएका खेलाडीलाई होस्टेलमा राखी एकेडमी सञ्चालन गरिनेछ । त्यसका लागि पालिकाले फापरवारीमा महिला र पुरुषका लागि छुट्टाछुट्टै होस्टेलको व्यवस्था गरेको छ । एकेडेमीका खेलाडीहरुलाई प्रशिक्षणसँगै पढाइका लागि जनता माध्यमिक विद्यालयमा प्रबन्ध मिलाइएको उहाँले बताउनु भयो ।
प्रशिक्षक केसीले अहिलेसम्म ८ वटा क्लब सञ्चालन गरिसकेका छन् । १४ वटा ए डिभिजन क्लबका साथै राष्ट्रियस्तरमा पनि प्रशिक्षण गरेको अनुभव केसीसँग रहेको छ । बागमती गाउँपालिकामा खेलकुदका लागि राम्रो वातावरण रहेको तथा आफ्नै होस्टेल र प्रत्येक वडामा खेल मैदान हुँदा खेलाडीलाई थप टेवा पुगेको केसीले बताउनु भयो । प्रत्येक वडाबाट छनोटका लागि लगभग १ सय जना खेलाडी सहभागी भइरेका छन् ।
