Home मुख्य समाचार फोटाभित्रका मेरा बा

फोटाभित्रका मेरा बा

आज बाको मुख हेर्ने दिन । बिहानैदेखि मन असाध्यै भारी छ । भित्ताको कुनामा एउटा पुरानो श्यामश्वेत फोटो झुण्डिएको छ । फोटामा थुप्रिएको धुलो टक्टक्याउँदै मैले त्यसलाई नजिकै तानेँ, त्यसभित्र एउटा अनुहार छ र अनुहारमा मन्द मुस्कान । मुस्कानभित्र न्यानोपन झल्किएको प्रष्ट बुझिन्छ, तर फोटोको त्यो अनुहार मेरो स्मृतिमा छैन ।

बिक्रम सम्बत् २०३० साल । जतिखेर म चार वर्षको मात्र थिएँ । त्यो साल मेरा बाको मृत्युसाल । हाम्रो घरमा बज्र परेको, ईश्वर पनि मात्र हामीसँग औधी रिसाएको, मेरी ३८ वर्षीया आमाको श्रृङ्गार सधैंका लागि लुटिएर हाम्रो घरको हाँसो चोरिएको, सदाका लागि हामी सन्तानबाट बा टाढिनुभएको र मेरो बालमस्तिष्कबाट बाको अनुहार कहिल्यै नफर्कने गरी हराएको निर्दयी अनि निठुरी साल थियो, त्यो ।

दसैं–तिहारमा देशविदेशमा रहेका सबैका बा घर आउँथे । आआफ्ना सन्तानलाई नयाँनयाँ कपडा र मिठामिठा खानेकुरा उनीहरुले ल्याएको देख्दा, मेरो सानो मनमा एउटा बाल हठ जाग्थ्यो अनि आमाका काखमा लडीबुडी गर्दै उनका अघि लाडे पल्टिएर तोते बोलीमा प्रश्न तेस्र्याउँथें, ‘नरेका बाजस्तै हाम्रा बा कहिले आउँछन् ?’ टिलपिल पानीले भरिएका आँखाबाट मैले नदेख्ने गरी एकदुई थोपा आँसु झार्दै आमा भन्नुहुन्थ्यो, ‘ऊ त्यो आकाशभित्र गएका छन् तिम्रा बा, कहिल्यै नफर्किने गरी !’ मेरी आमाले युवास्थामै लोग्ने गुमाउनुपरेको पीडा अबोध बालक म कसरी बुझ्थेँ र ! त्यसपछि काखबाट ओर्लेर मुसुक्क हाँस्दै मुन्टो हल्लाएर खेल्न जान्थें ।

वषौँ बिते । आमा नै मेरा लागि बाको कथाकिताब हुनुहुन्थ्यो । उहाँ कहिलेकाहीँ सुनाउनुहुन्थ्यो, ‘लाहुरे भएर पनि बा निकै कर्मठ, हास्यप्रिय र परिवारप्रेमी हुनुहुन्थ्यो ।’ यसरी बाका बारेमा आमाले सुनाएका सुखद स्मृतिहरु मलाई लोककथा जस्तो लाग्थ्यो । धेरै पछिसम्म आमा आफूले बासँग बिताएका अनमोल पल निकै भावुक र पीडित स्वरमा हामी छोराछोरीलाई सुनाउनुहुन्थ्यो । उहाँहरु अझै जिस्किँदै हाँस्दै घर, आँगन र खेतखलियानमा काम गर्दै हुनुहुन्छ कि भन्ने भ्रम मलाई पथ्र्यो । गाउँका मेलापातमा अरुका बाआमा मस्किँदै, जिस्किँदै हिँडेको देख्दा उनीहरुमा म मेरा बाआमाको छवि देख्थेँ । त्यतिखेर एकछिनका लागि भने पनि म बाको अभाव बिर्सिन्थेँ ।

अहिले म आफैं जीवनको उत्तराद्र्धमा पाइला टेक्न पुगेँ । आमाले पनि संसार छाडेको छ वर्ष बितेछ । प्रिय बाको कथा सुनाउने आमा मसँग हुनुहुन्न । कहिलेकाहीँ लाग्छ, बाको कथा सुनाउने मेरा आमाका स्मृतिहरु मबाट बिस्तारै विस्मृत हुँदै छन् । अब मसँग फगत बाँकी छ, त्यो पुरानो श्यामश्वेत बाको सेतो फोटो र माला पहिर्‍याएर भित्तामा झुन्ड्याइएको आमाको फोटोफ्रेम अनि मेरो छातिभित्र उकुसमुकुस भएर थुनिएको दुबैको बेजोड कमी ।

आज, बाको मुख हेर्ने दिन, मैले बाका भित्तामा झुण्डिएको श्यामश्वेत फोटो अगाडि सेतो फूल चढाएँ र थरथराएका हातका औंलाले फोटोको किनार छुँदै मनमनै भनेँ, ‘बा तपाइँको अनुहार मैले प्रत्यक्ष देख्न त पाइनँ, तर तपाईं भने मेरो हृदयबाट कहिल्यै, कहिल्यै अनि कहिल्यै हराउनुभएन ।’

Exit mobile version