(मोतीजयन्ती विशेष)
वि.सं. १९२३ साल भदौ २५ गते काठमाडौंमा कुशे औशिका दिनमा जन्मिएका मोतीराम भट्ट नेपाली गजलका जनक, आधुनिक नेपाली कविताका अग्रदूत र अमर साहित्यकारका रुपमा चिनिन्छन् । बाल्यकालमै मोतीराम भारतको बनारस गएर शिक्षा हासिल गरेका उनले संस्कृत, हिन्दी, उर्दू र साहित्यिक अध्ययनमा विशेष दक्षता प्राप्त गरे ।
मोतीराम भट्ट केवल कवि मात्र नभई बहुमुखी साहित्यकार थिए । उनले गजललाई नेपाली भाषामा भित्र्याएर नेपाली कवितामा नवीनता ल्याए । नेपाली साहित्यमा आधुनिकताको सुरुवात गर्ने व्यक्तिमध्ये उनी प्रमुख मानिन्छन् । साथै उनले भानुभक्त आचार्यका रचनाहरू संकलन, सम्पादन र प्रकाशन गरी भानुभक्तलाई ‘आदिकवि’का रूपमा स्थापित गरिदिए, जुन नेपाली साहित्यका लागि उनको अर्को ठूलो योगदान मान्न सकिन्छ ।
उनका कवितामा प्रेम, सौन्दर्य, प्रकृति र मानवीय संवेदनाहरूको प्रभावशाली प्रस्तुति पाइन्छ । उनले नेपाली गजललाई भावनात्मक मात्र नभई लयात्मक र सङ्गीतमय बनाउन योगदान दिए । उनका कृतिहरूमा समाजलाई चेतना दिने सन्देश पनि भेटिन्छ । मोतीराम भट्टले श्रृङ्गर, भक्ति तथा राष्ट्रियताका विषयमा थुप्रै कविताहरू लेखे श्रृङ्गारिक कविताका चाहिँ उनी निर्माता नै बने ।
उनको गजलको एक अंश :
यि सानै उमेर् देखि मन् हर्न लागे
यिनै सुन्दरीले जुलुम् गर्न लागे ।।

मोतीराम भट्टको जीवन धेरै लामो रहन सकेन । वि.सं. १९५३ साल भदौ ६ गते ३१ वर्षको उमेरमै उनको निधन भयो । यसरी छोटो जीवन हुँदाहुँदै पनि उनले नेपाली साहित्यको जग मजबुत बनाउने काम गरे । उनले छोटो आयुमा गरेको योगदानका कारण आज पनि रूपमा उच्च सम्मानसहित सम्झिन्छ । उनलाई युवा कविको रुपमा समेत चिनिन्छ ।
(लेखक गजल मञ्च मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।)