Home मुख्य समाचार स्नातक पढ्ने तयारीमा रहनुभएका विद्यार्थीका नाममा

स्नातक पढ्ने तयारीमा रहनुभएका विद्यार्थीका नाममा

१. सर्वप्रथमतः कक्षा १२ उत्तीर्ण गरी माध्यमिक तह पार गरेका सबै विद्यार्थीहरुमा हार्दिक बधाई व्यक्त गर्दछु । नेपालको प्रचलित शिक्षा ऐन, कानूनले कक्षा १२ सम्मको शिक्षालाई विद्यालय तह भनेको छ । विगतमा कक्षा ११ र १२ लाई उच्च माध्यमिक तह भनिने बेलाका तपाईहरुका अभिभावक दाजु तथा दिदिहरुले झुक्किएर यसै तहलाई कलेज भन्नुभएको भए सच्याउनु होला । अब तपाईंहरु विश्वविद्यालय स्तरको शिक्षा हासिल गर्न स्नातक तहमा प्रवेश गर्दै हुनुहुन्छ । समय मात्र बितेको होइन, तपाईको पनि समयसँगै उमेर उकालो लागिरहेको छ । यो बेला तपाईको अध्ययनको उमेर हो । हाम्रो कालखण्डमा झैं अर्थात आजभन्दा चार दशक वर्ष भन्दा अगाडि गाउँमा एसएलसी गर्नेलाई खोजेर शिक्षक बनाउने स्थिति आज छैन ।

लोकसेवाले विज्ञापन गर्दा आवश्यक भन्दा कम संख्यामा दरखास्त पर्दथ्यो । परीक्षामा उत्तीर्णाङ्क ल्याउन सक्नेको जागिर निश्चित हुन्थ्यो । हाम्रो शिक्षा प्रणाली खासगरी जागिरमुखी शिक्षा भएकाले पनि पढेपछि जागिर खोज्ने परम्परा विगतकालकै निरन्तरता भन्नै पर्दछ । अहिले समयले व्यापक कोल्टे फेरिसकेको छ । शिक्षालाई जागिर भन्दा पनि रोजगार र ज्ञानसँग जोडेर बुझ्नै पर्दछ । अहिलेको पढाई कम्तिमा पनि स्नातक त हुनै पर्दछ । सक्दा, स्नात्तकोत्तर, एमफिल र पिएचडी गर्नु नै उत्तम मानिन्छ । यस आलेखमा स्नातक तहमा प्रवेशका लागि न्यूनतम जानकारी हुनैपर्ने कुराहरु संक्षिप्तमा उल्लेख गर्ने प्रयत्न गरिएको छ ।

२. अध्ययन भन्नाले यहाँ ज्ञान र सीप आर्जन गर्ने कामसँग लक्षित गरिएको छ । ज्ञान र सीप आर्जन गर्ने व्यक्तिका लागि प्राप्त गरेको कुरा नै अमूल्य सम्पत्ति हो । यसका लागि व्यक्तिको रुची, चाहना र ईच्छा प्रधान सवाल स्विकार गरिएको छ । तसर्थ, तपाईको उच्च शिक्षा तपाईकै रुची, चाहना र आवश्यकतामा निर्भर गर्दछ । अर्को साथीले कहाँ के विषय पढ्न भर्ना भएको भन्ने जानकारी तपाईंका लागि सूचना बन्न सक्दछ । प्रत्येक व्यक्तिका रुची र आवश्यकता समान हुनै पर्दछ भन्ने हुँदैन । तपाईंको साथी, अत्यन्त मन मिलेका र विद्यालयमा एकै बेन्चमा बसेका अझ परिवारसँग जोडिएका व्यक्तिहरुको रुची र आवश्यकतासँग तपाईंको पनि रुची र आवश्यकता ठ्याक्कै मिल्न सक्छ भन्न सकिंँदैन । जुम्ल्याहा दाजुभाइ र दिदिबहिनीका पनि रुची र चाहना मेल खाएका छैनन् । स्वभाव र चरित्र फरक फरक हुनु नै मानवीय विशेषता मानिएको छ । तसर्थ नक्कल होइन आफ्नो अन्तरआत्माबाट रुची र जानेको सीपलाई उजागर गर्ने अठोट गर्नुहोस् । आफ्नो स्तरको आफैं मूल्याङ्कन गर्नुहोस् । ग्रेडसिटले मात्र पनि तपाईको क्षमता मापन गर्न सक्दैन । आफ्नो क्षमता स्वमूल्याङ्कनको महत्वपूर्ण पक्ष हो । तपाईंको साथीले रोजेकै विषय पढ्नु पर्छ भन्ने छैन । अरु घोडा चढेका छन् भनेर आफु घरको धुरी चढ्ने दुस्साहस नगर्नुहोला ।

३. तपाईंको आर्थिक सवलताले मात्र अगाडिको अध्ययन सार्थक बनाउँछ । तपाईको कलेज भर्नाको कारणले आमाबुबा र अभिभावक आर्थिक पीडामा पर्नु हुँदैन । कक्षा १२ पार गरिसकेकाले तपाई स्वयम्ले अब सिङ्घो परिवारको आर्थिक अवस्था र तपाईको पढाईका लागि खर्च गर्न सक्ने सबै स्थितिको गम्भिरताका साथ विश्लेषण गर्न नभुल्नुहोला । तपाईंले पढ्न चाहेको विषय ठूला शहरका नाम चलेका ठूला र महँगा कलेजमा मात्र पढाईने हो कि ती विषय तपाईंको गाउँटोल वा नजिकमा रहेका कलेजमा पनि पढाई हुन्छ भनेर पहिले जानकारी लिने काम गर्नु पर्दछ । विषय मात्र चर्चित भएर हुँदैन, पढाईको स्तर र नतिजा पहिलो पक्ष हो ।

कुनै पनि विषयमा हासिल गरिने विज्ञता र विशेषज्ञता नै महत्वपूर्ण मानिएको छ । प्रवेश परीक्षा लिएर जेहेन्दार विद्यार्थीमात्र भर्ना गरेर नतिजा राम्रो भएको भन्नेहरुले प्रभाव पार्न सक्छन् । वास्तविकता फरक हुन सक्छ । कमजोरलाई उत्तीर्ण मात्र पनि ठूलो कुरा बन्न सक्छ । कलेजको छनौट सबैभन्दा पहिलो पक्ष हो कलेजको भौतिक पक्षको आकर्षण मात्र सबैथोक नहुन सक्छ । अध्ययन अध्यापनमा संलग्न प्राध्यापकहरुको योग्यता, स्तर, क्षमता, शैली, व्यवहार, चरित्र आदिले अधिक प्रभाव पार्ने भएकाले कक्षाकोठाको शैक्षणिक वातावरण समेतको ज्ञान हुन जरुरी छ । शिक्षणमा प्रविधिको प्रयोग र प्रयोगात्मक कक्षाहरुको प्रभावकारिताका सवालमा समेत आवश्यक जानकारी लिन नबिर्सनु होला । प्रयोगात्मक अभ्यासहरुको प्रभावकारिताबाट तपाईंको सीप सिकाईमा व्यापक प्रभाव पारिरहने तथ्यलाई गम्भिरतापूर्वक विचार गर्न पनि म आग्रह गर्दछु ।

४. कक्षा १२ पार गर्ने बित्तिकै बिदेश नै जानुपर्ने बाध्यात्मक अवस्था तपाईंको सन्दर्भमा छ वा छैन ? त्यो थप गम्भिर बनेर सोच्नुहोला । हतारमा निर्णय गरी बिदेशिने सबैको अवस्था तपाई हामीले सोचे जस्तो नहुन सक्छ । यहाँ, बिदेश जानै हुँदैन भन्न खोजिएको पटक्कै होईन । बिदेशको पढाईसँग तपाईंको रोजगार जोडिएको हुन सक्छ । त्यो रोजगारका लागि तपाईंले यहाँ आर्जन गरेको सीप र ज्ञान मेल खान्छ कि खाँदैंन, अर्को ध्यानै दिनपर्ने सवाल हो । ऋण गरेर बिदेश पढ्न जाने स्थितिमा त झनै सोच्नु होला । म्यान पावर कम्पनि, एजेन्सी र पढने कलेजका बारेमा पर्याप्त सूचना लिएरमात्र बैदेशिक यात्रा तय गर्नु राम्रो हुन्छ । कैयौं ठगीमा संलग्न रहेका, फर्जी कागजात बनाइएका, सरकारी अंगसँग नजोडिएका, नक्कली संस्था बनाएर व्यवसाय गरेका, मानव बेचबिखन गिरोहका शिकार बन्नुहोला नि ?

यहाँ भन्दा बाहिरको विषय के कति कारणले आकर्षक बनेको हो सो को पर्याप्त जानकारी हुनु जरुरी हुन्छ । स्वदेशमा त्यो स्तरको शिक्षा लिन दिन के के गर्नुपर्ला भनेर यहाँका जनप्रतिनिधिहरु, उच्च प्रशासकहरुसँग अन्तरक्रिया गरेको, भएको छ त ? यदि त्यतातर्फ यहाँको तीनै तहका सरकारले अनिच्छा देखाएको, बेवास्ता गरेको, कुनै सुनुवाई नै नभएको र रत्ति पनि सुधार हुने लक्षण छैन भने त्यस्तो अवस्था यो मुलुकका लागि दुर्भाग्यपूर्ण सावित हुने तथ्यमा विमति छैन ।

५. अन्तमा, उच्च शिक्षा तपाईंको रुची र आवश्यकतामा भर पर्दछ । उक्त रुची र आवश्यकता तपाईको व्यक्तिगत क्षमता र स्तरले निर्देशित गरिरहेको हुन्छ । सँगै, थप अध्ययनका लागि तपाईंको आर्थिक अवस्था अर्को निर्णायक पक्ष हुन सक्छ । तपाईंले अध्ययन गर्न चाहेको विषय बमोजिम आफ्नो स्थानीय तहमा सबैभन्दा नजिक दूरीमा रहेका कलेज नै छनौट गर्न उपयुक्त हुन्छ । आफूले खोजेको जस्तो शैक्षिक वातावरण नजिकका कलेजमा छैन भने सोका लागि उपयुक्त वातावरण बनाउने जिम्मेवारी तपाईंको पनि त हो । तपाईले खोजेको विषय, रोजेका प्राध्यापकहरु, भौतिक सुविधायुक्त कलेज, प्रयोगशाला र पुस्तकालयको प्रभावकारी व्यवस्थाका लागि अन्यत्र भागेर होइन, आफ्नै ठाउँमा प्रयत्न गरिएन भने पछिल्ला पुस्ताका लागि पनि त थप समस्या बन्ने नै हो । स्तरीय शिक्षा र उत्कृष्ट नतिजाका सवालमा अवरोध हुनेगरी कतै कसैले पनि सम्झौता गर्नुहुँदैंन । नक्कल र लहैलहैमा नदौडिनका लागि पनि आग्रह गर्दछु । यो बेलामा तपाईलाई सुझाव सल्लाह दिनेहरुको कमी छैन भन्ने बुझेर पनि उल्लेखित सुझावहरुले अझ बल मिलोस् भन्ने अपेक्षा गरिएको छ । कुरा सबैको सुन्नुहोला । सुझाव तथा सल्लाह ग्रहण गर्न कतै कसैलाई रकम तिर्नु पर्दैन । आफनो रुची र आवश्यकता अनि क्षमतामा आधारित रहेर निर्णय लिने काम त तपाईकै हो । तपाईंले लिने निर्णयले तपाईकै सिङ्घो जीवनको यात्रालाई स्वस्थ, सहज, सरल, समृद्ध र उपलब्धिपूर्ण बनाउनु पर्दछ भन्ने अपेक्षा गर्दछु ।

Exit mobile version