हेटौंडा : एसईईको ग्रेडवृद्धि (पूरक) मौका परीक्षाअन्तर्गत शुक्रबारको परीक्षामा २० जना अनुपस्थित भएका छन् । अनिवार्य नेपाली विषयमा २० जना विद्यार्थी अनुपस्थित हुँदा ३ सय ४६ जना विद्यार्थी उपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।
ग्रेडवृद्धि मौका परीक्षाको तेस्रो दिन आज शनिबार अनिवार्य गणित विषयको परीक्षा हुँदैछ । गणित विषयमा मौका परीक्षा दिन २ हजार २ सय भन्दा बढी विद्यार्थीले फारम भरेको इकाईले जानकारी दिएको छ । ग्रेडवृद्धि मौका परीक्षाका लागि मकवानपुर जिल्लामा ८ वटा परीक्षा केन्द्र तोकिएको छ । मकवानपुर जिल्लाबाट करिब ३ हजार १ सय १५ विद्यार्थीले पूरक परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरकी अधिकृत संगीता घलेले जानकारी दिनुभयो ।
जिल्लाभित्र रहेको १३२ वटा माविबाट २०८१ सालको एसईईमा ३ हजार ११५ जना विद्यार्थी ननग्रेडेड आएको थियो । ननग्रेडेड भएका प्रायः सबै विद्यार्थीले मौका परीक्षाका लागि आवेदन दिएका छन् । ग्रेडवृद्धि परीक्षा भदौ ६ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ ।
