Home मुख्य समाचार प्रशासन, जिसस र समन्वय इकाईमा प्याव्सनले बुझायो ज्ञापनपत्र

प्रशासन, जिसस र समन्वय इकाईमा प्याव्सनले बुझायो ज्ञापनपत्र

ज्ञापनपत्र बुझाइँदै ।

हेटौँडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) ले प्रस्तावित शिक्षा विधेयकमा संस्थागत विद्यालयको सन्दर्भमा भएको व्यवस्थामा संशोधनको माग गर्दै देशव्यापी ज्ञापनपत्र बुझाउने कार्यक्रमअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला समन्वय समिति मकवानपुर र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।

प्याव्सन केन्द्रीय समितिकी सहकोषाध्यक्ष ग्रेस श्रेष्ठ, प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठसहितको समूहले एकैदिन तीन वटा कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । प्याव्सनले शुक्रबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरी र जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइटेललाई ज्ञापनपत्र बुझाएको हो । यसअघि बिहीबार पालिकामा ज्ञापनपत्र बुझाइएको थियो ।

संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित भएको प्रस्तावित शिक्षा विधेयकमा केही विषयहरू निजी विद्यालयहरूलाई अमान्य रहेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) ले ज्ञापनपत्र बुझाएको हो । निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति दिनुपर्ने विषय संशोधन गर्न तथा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने प्याव्सनको माग छ ।

प्याव्सनले भदौ ३ गते पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने, भदौ ४ गते जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने, भदौ ५ गते प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने र भदौ ६ र ७ गते केन्द्र÷प्रदेशस्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने योजना रहेको छ । उक्त समय सीमाभित्र गरिएको आन्दोलन, सचेतना, ज्ञापनपत्र बुझाउने, अन्तरक्रिया र छलफलबाट निकास ननिस्किए विद्यालय बन्दसम्मको कार्यक्रम हुने प्याव्सन हेटौँडा उपमहानगर समितिका सचिव सुदीप राज गिरीले जानकारी दिनुभएको छ ।

Exit mobile version