हेटौंडा : एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । मंगलबार प्रेस काउन्सिल नेपालले जारी गरेको प्रेसविज्ञप्ति अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न प्रकारका प्रेस स्वतन्त्रताविरुद्धका घटना भएका हुन् ।
‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री’ भए पनि पत्रकारमाथि दिन प्रतिदिन घटनाहरु घटेको प्रेस काउन्सिल नेपालको विज्ञप्तिमा उल्लेख छ । २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा ९४ वटा प्रेस तथा पत्रकारमाथि स्वतन्त्रता हननका घटना भएको काउन्सिलको भनाइ छ ।
काउन्सिलले अभिलेखन गरेको तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी प्रेस स्वतन्त्रता हननसम्बन्धी घटनाहरु भएका छन् । सातवटै प्रदेशमा सबैभन्दा कम प्रेस स्वतन्त्रता हननका घटना लुम्बिनी प्रदेशमा छ ।
काउन्सिलका अनुसार धम्की/दुव्र्यवहारका घटनाहरु सबैभन्दा बढी ४१ वटा रहेका छन् । यस्तै, आक्रमण तथा कुटपिटका घटना २२, पेशागत असुरक्षा १३, कब्जा/अवरोध ७, पक्राउ÷पक्राउ प्रयासका घटना ७ वटा रहेका छन् । नीतिगत बन्देजका २, पत्रकार हत्या १, जातीय विभेदका घटना १ रहेका छन् ।
प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ३८ घटना भएका छन् । मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा ८/८, कर्णालीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३ र देश बाहिर १ घटना भएका छन् । लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएको पाइएको छ । घटना ९४ वटा भएको भए पनि एउटै घटनामा एक वा एकभन्दा बढी व्यक्ति पीडित भएको हुँदा पीडितको संख्या घटना संख्याभन्दा बढी देखिएको हो ।
काउन्सिल प्रेस स्वतन्त्रताको रक्षाका साथै सोको दुरुपयोग हुन नदिन सक्रिय रहँदै आएको छ । यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका ९ घटना भएकामा बागमती प्रदेशमा ४, मधेस प्रदेशमा ३ र कर्णालीमा २ घटना भएको पाइएको छ ।
