
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नुभएका मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत प्राप्त भएको हो ।
सत्ता गठबन्धनको १ मत भने अनुपस्थित हुँदा उहाँको पक्षमा प्राप्त हुन सकेन । कुल ११० सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ५६ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक भएकोमा मुख्यमन्त्री बानियाँलाई कांग्रेसका ३६ र एमालेका २७ जना प्रदेशसभा सदस्यले मत दिएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहनुभएकाले उहाँ प्रदेशसभा बैठकमा उपस्थित हुनुभएन ।
प्रदेशसभाको बैठकमा उपस्थित कूल ९२ सदस्य मध्ये उहाँको विपक्षमा २२ मत प्रस्तुत भएको छ भने ७ मत तटस्थमा परेको छ । बैठकमा १८ जना प्रदेशसभा सदस्य अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागी हुनुभएन । गत साउन २० मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत लिनुभएको हो ।