Home अर्थ/व्यापार हेटौँडा उपमहानगरको बजेट प्रमाणित भएन

हेटौँडा उपमहानगरको बजेट प्रमाणित भएन

नगरप्रमुख मीनाकुमारी लामा । फाइल तस्वीर ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम अझै प्रमाणित हुन सकेको छैन । असार २७ गते बसेको नगरसभाबाट पासिर भएको बजेट तथा कार्यक्रम एक महिना बितिसक्दा पनि प्रमाणित हुन सकेको छैन । नगरसभाबाट पारित बजेट तथा कार्यक्रम नगरप्रमुखले प्रमाणित गरेपछि सरकारी कम्प्युटर प्रणालीमा बजेट तथा कार्यक्रम दाखिला गरेपछि कार्यान्वयनमा जाने व्यवस्था छ ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले बजेट प्रमाणीकरण गर्ने उद्देश्यले सबै वडाहरुसँग बैठक गरिरहेको जानकारी दिनुभयो । बजेट इन्ट्री पश्चात बजेट पुस्तिका प्रकाशन गर्ने र सो पश्चात मात्र प्रमाणित गरिने उहाँले स्पष्ट पार्नुभयो । नगरका वडाहरु मात्र नभई नगरकै विभिन्न शाखाहरुबाट पनि अघिल्लो आर्थिक वर्षको बाँकी दायित्व तथा कार्यक्रमहरु स्पष्ट आउन नसकेको उहाँको भनाइ छ । बजेट प्रमाणित हुन नसकेको कारण उपमहानगरपालिकाका बजेट खर्च गर्न नसकिएको समेत उहाँले बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा २ मा आगामी आर्थिक वर्षको अनुमानित बजेट कार्यपालिकाबाट स्विकृत गराउनुपर्ने र सभामा पेश गरिने बजेटमा कार्यक्रममा नै अघिल्लो आर्थिक वर्षको राजश्व र व्ययको यथार्थ विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ । यसअघि स्विकृत बजेटको मस्यौदा पुस्तिका वडाहरुमा बाँडिएकोमा चालु आर्थिक वर्षका लागि हेटौँडा उपमहानगरपालिकाले कुल २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट कार्यक्रम (राजश्व तथा व्यय अनुमान) पारित गरेको छ ।

Exit mobile version