Home मुख्य समाचार एक वर्षमै हजारभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा

एक वर्षमै हजारभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा

जिल्ला अदालत मकवानपुर ।

हेटौँडा : जिल्ला अदालत मकवानपुरमा एक वर्षको अवधिमा एक हजार ४७ वटा सम्बन्धविच्छेदको मुद्दा दायर गरिएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा सम्बन्धविच्छेदका लागि अघिल्लो वर्षभन्दा २ सय ४० वटा बढी सम्बन्धविच्छेदका मुद्दा दायर भएका हुन् । दायर भएका मुद्दाहरुमध्ये ४० वटा सम्बन्धविच्छेदका मुद्दा पुरुषहरुले दायर गराएका छन् ।

महिलाहरु आत्मनिर्भर हुँदै गएकाले कुनै पनि हिंसा सहेर नबस्ने र स्वतन्त्र भएर बाँच्न खोज्ने कारणले सम्बन्धविच्छेदका मुद्दा प्रत्येक वर्ष बढ्दै गएको जिल्ला अदालत बार एसोसिएसनका निवर्तमान अध्यक्ष अधिवक्ता अप्सरा बस्नेतले बताउनुभयो । उहाँले पछिल्लो समय महिलाहरु आर्थिकरुपले सशक्तिकरण हुँदै जाँदा श्रीमानबाट हुने शारीरिक, मानसिक तथा यौनजन्य हिंसाबाट मुक्त हुनका लागि सम्बन्धविच्छेदको बाटो रोज्ने गरेको अधिवक्ता बस्नेतको भनाइ छ ।

श्रीमानले मादकपदार्थ तथा लागूऔषध सेवन गरी आफूमाथि हिंसा गरेको भन्दै महिलाहरु सम्बन्धविच्छेदका लागि आउने गरेको अधिवक्ता बस्नेतको भनाइ छ । पछिल्लो समय श्रीमान वैदेशिक रोजगारमा गएका श्रीमतीहरु अन्य पुरुषसँग सम्बन्ध राख्ने आरोपमा पनि पूर्ण सत्यता नभएको उहाँको भनाइ छ । श्रीमान विदेशमा जाने ५ प्रतिशत महिलाले मात्र परपुरुषसँग सम्बन्ध राखेर सम्बन्धविच्छेदसम्म आइपुग्ने गरेको उहाँको अनुभव छ ।

सम्बन्धविच्छेदपछि मकवानपुर जिल्लामा अंशबण्डासम्बन्धी मुद्दा दर्ता भएको छ । अंशबण्डासम्बन्धी ४ सय ५७ वटा मुद्दा दायर भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । तेस्रोमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर भएका छन् । जबरजस्ती करणीसम्बन्धी ३ सय ७६ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, ३ सय ७१ वटा चेक अनादरको मुद्दा परेको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

Exit mobile version