Home मुख्य समाचार बागमती प्रदेशमा काँग्रेसबाट मन्त्री बन्नेको लर्को

बागमती प्रदेशमा काँग्रेसबाट मन्त्री बन्नेको लर्को

बागमती प्रदेशमा मन्त्री बन्न आकांक्षा राख्ने प्रदेशसभा सदस्यहरु ।

हेटौँडा : बागमती प्रदेशमा नेपाली कांग्रेसभित्र मन्त्री बन्ने होड चलिरहेको छ । हालै नियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले पार्टीभित्रको दबाव र शक्ति सन्तुलनलाई मिलाउन काँग्रेसबाट २ मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय रिक्त राख्नुभएको छ ।

नेपालको संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्री बन्नुभएका बानियाँ सरकार गठनको तयारी थाले लगत्तै मन्त्री बन्नेहरुको लर्को लागेको हो । सरकार गठन नहुँदै मन्त्री पद सुरक्षित गर्न प्रदेशसभा सदस्यहरु तीव्र दौडधुपमा छन् । काँग्रेस प्रदेशसभा सदस्यहरु मन्त्री बन्ने लबिङका लागि काठमाडौँ बसेर नेताहरुसँग भेटमा केन्द्रित भएका छन् । साउन ९ मा तत्कालिन मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव साउन १३ मा पारित भएपछि नेपाली कांग्रेस संसदीय दलको नेतामा साउन १४ मा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको थियो । दलको नेता भएलगत्तै बानियाँले केन्द्रबाट दबाव दिएर साउन १९ मा तत्कालिन मुख्यमन्त्री बहादुर सिंह लामालाई पदच्युत गराउनुभयो ।

त्यसपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आव्हान गर्नुभए बमोजिम दावी पेश गरेर बानियाँलाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रदेशको राजनीतिक स्थायित्व, समावेशी विकास र पारदर्शी शासनप्रति प्रतिवद्धता जनाउनुभएका मुख्यमन्त्री बनियाँलाई पार्टीको शक्ति सन्तुलन मिलाउन चुनौतिपूर्ण बनिरहेको छ ।

मन्त्री छान्न साउन २१ गते राती काठमाडौं पुग्नुभएका मुख्यमन्त्री बानियाँ काठमाडौंमै व्यस्त हुनुहुन्छ । साउन २७ गे विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारीमा रहनुभएका उहाँ शिर्ष नेताहरुसँगको छलफलमा हुनुहुन्छ । प्रदेशमा रहेका १४ मन्त्रालय मध्ये भागबण्डामा एमालेले ६ र कांग्रेसले ८ मन्त्रालय पाउने सहमति रहेको छ । सोही अनुसार गत साउन २० मा नै मुख्यमन्त्री बानियाँको सपथसँगै एमालेले ६ मन्त्री सरकारमा पठाइसकेको छ ।

काँग्रेसबाट श्यामबहादुर खड्का, बिमल ठकुरी र सुरजचन्द्र लामिछानेले मन्त्री बन्ने अपेक्षा गर्नुभएको छ । तर, यसअघि नै मन्त्री बन्नुभएका उहाँहरूको सम्भावना अत्यन्त कम रहेको छ । यद्यपि शिर्ष नेताहरुको आशिर्वाद भए उहाँहरु मन्त्री बन्ने निश्चित छ । दुवै जनाको मन्त्री पद सुरक्षित रहेको कांग्रेस भित्र चर्चा रहेको छ ।

कांग्रेसबाट सुरेश श्रेष्ठ, कन्चन चन्द्र बादे मन्त्रीको सशक्त दाबेदार हुनुहुन्छ । काँग्रेस महामन्त्री गगनकुमार थापाको टिमबाट श्रेष्ठ मन्त्री बन्ने तयारीमा हुनुहुन्छ । यसअघिको सरकारमा नै मन्त्री बन्ने तयारीमा रहनुभएका उहाँलाई अन्तिम समयमा र्फिता गरिएको थियो । गगन थापाको क्याम्पबाट सुरजचन्द्र लामिछो मन्त्री बन्दा श्रेष्ठ रोकिनुभएको थियो । हाल थापाको टिमबाट मन्त्रीका लागि उहाँ एकल उम्मेवारको रुपमा रहेको व्याख्या भइरहेको छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य श्रेष्ठ शक्तिशाली मन्त्रालयका लागि लविङ गरिरहनुभएको छ ।

यता नेता प्रकाशमान सिंहको टिमबाट एकल उम्मेदवारको रुपमा बादे मन्त्रीको लविङमा रहनुभएको छ । काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित उहाँ कांग्रेस बागमती प्रदेशका महामन्त्री समेत हुनुहुन्छ । उहाँलाई हालै कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरिएको छ ।

केन्द्र सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै आलोचना भएपछि कांग्रेसले प्रदेश मन्त्रिपरिषद्लाई समावेशी बनाउने गरी अघि बढ्ने देखिन्छ । कांग्रेसभित्र समावेशी मन्त्रिपरिषदको मुद्दा उठिरहेका बखत बागमती प्रदेशको मन्त्रीका लागि सुना परियारको नाम पनि चर्चामा रहेको छ । महिला तथा दलित कोटामा उनी मन्त्री बन्न लविङ गरिरहनुभएको छ । नेता मीनबहादुर विश्वकर्मा टिमकी प्रदेशसभा सदस्य परियार प्रवक्ता महत टिकसँग पनि निरन्तर सम्पर्कमा हुनुहुन्छ । उहाँलाई मन्त्री बनाउन मागसहित सरकारलाई समावेशी बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष ध्यानाकर्षण समेत गराइएको छ ।

महिला मन्त्रीका लागि परियारसहित परराष्ट्र मन्त्री आरजु देउवा राणा निकट रहेकी विनु रायमाझी, प्रवक्ता महत निकटकी उर्मिला नेपाल केसी र गगन थापा टिमकी याङ्कीला शेर्पा समेत चर्चामा हुनुहुन्छ । उहाँहरु निरन्तर रुपमा पार्टी केन्द्र र शिर्ष नेताहरुसँगको भेटघाटमा हुनुहुन्छ । नेता शेखर कोइराला टिममा रहेका ४ जना प्रदेशसभा सदस्य मध्ये रमेशकुमार महत पनि मन्त्रीको लविङमा हुनुहुन्छ । कोइराला टिमबाट यसअघि उत्तम जोशी मन्त्री भइसक्नुभएको छ भने अन्य २ जना प्रदेशसभा सदस्य गीता गुरुङ र रामकुमार पहाडीको चर्चा खासै देखिँदैन । यद्यपी यसअघिको बहादुर सिंह लामाको मन्त्रिपरिषदमा गुरुङ सहकारी मन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई मन्त्री बनाउन निवर्तमान मुख्यमन्त्री लामाले सशर्त राजीनामा दिएको भन्दै दवाव बढाइरहनु भएको छ । गोविन्द लाम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रिपरिषदमा ल्याएर लामा नेतृत्वले सरकारलाई स्थायित्व दिने प्रयासमा निवर्तमान मुख्यमन्त्री लामा प्रयत्नरत हुनुहुन्छ ।

लामाकै टिमबाट मन्त्री बन्ने उच्च सम्भावनाको रुपमा काभ्रेका तीर्थबहादुर लामा समेत देखिनुभएको छ । यद्यपी कांग्रेसमा हालसम्म मन्त्री दोहोरिएको रेकर्ड नभएकाले यसअघि नै मन्त्री बनेका उनी माथि जोखिम देखिएको छ । सभापति शेरबहादुर देउवाको कोटाबाट प्रदेशसभा सदस्य शिवराज अधिकारी मन्त्री बनिसक्नुभएको छ भने कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको टिमबाट प्रभात लामा मन्त्री बन्ने प्रवल सम्भावना बोकेका पत्र हुनुहुन्छ । यसअघि नै मन्त्री नियुक्त भएर सपथ ग्रहण गर्न नपाउनुभएका उहाँलाई वर्तमान सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी दिने गरी अघि बढाइएको कांग्रेसका एक प्रदेशसभा सदस्यले बताए । तामाङको मन्त्री पद पक्का रहेको तर, विभाग भने सन्तुलन कायम गर्नुपर्ने अवस्थामा फरक पर्न सक्ने उनको भनाई छ ।

उनका अनुसार कांग्रेसबाट मन्त्री बन्ने लविङमा रहेका रमेशकुमार महत पनि सोही मन्त्रालय पाउने पर्ने मागमा हुनुहुन्छ । मुख्यमन्त्री बानियाँको टिमबाट कृष्णकुमार तामाङ प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री बनिसक्नुभएको छ ।

Exit mobile version