Home खेलकुद अष्ट्रेलिया जाने नेपाली राष्ट्रिय टोलीमा मकवानपुरका रिजन पनि

अष्ट्रेलिया जाने नेपाली राष्ट्रिय टोलीमा मकवानपुरका रिजन पनि

बलिङ गर्दै रिजन ढकाल । फाइल तस्वीर ।

हेटौँडा : आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एण्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । यसपटकको टोलीमा कुशल मल्लको पुनरागमन भएको छ । उनी यसअघि स्टकल्याण्ड टूरका लागि टोलीमा अटाएका थिएनन् । टप एण्डको प्रदर्शनबाट उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेगरी नै टोलीमा पुनः स्थान बनाउने अवसर हुनेछ ।

राष्ट्रिय टिममा मकवानपुरका रिजन ढकाल पनि अटाएका छन् । रिजन पछिल्लो समय नियमित जसो राष्ट्रिय टिममा अटाएका छन् । घोषित १६ सदस्यीय टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी रहेका छन् । नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा खेल्ने खेलहरूको तालिका पनि सार्वजनिक भइसकेको छ । नेपालसहित ११ टोली सहभागी यस सिरिजमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ ।

नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ । दोस्रो खेल १६ अगस्टमा बंगलादेश ‘ए’ विरुद्ध हुनेछ । तेस्रो खेल नेपालले १८ अगस्टमा मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ । चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स विरुद्ध हुनेछ भने पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स विरुद्ध हुनेछ । अन्तिम लिग खेल नेपालले २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ ।

यसपटकको प्रतियोगितामा नेपाल, पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किङ्समेनसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोली—होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स—साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक सहभागी छन् । लिग चरणपछि शीर्ष ४ टोलीबीच सेमिफाइनल खेलिनेछ र त्यसपछि फाइनल हुनेछ ।

नेपाल फाइनलसम्म पुगेमा कुल ८ खेल खेल्नेछ । सन् २०२३ मा भएको अघिल्लो संस्करणमा जम्मा ५ टोली सहभागी थिए भने यसपटक ११ टोली पुगेका छन् । नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो । नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि ऐतिहासिक टी–२० आई शृंखला खेल्दैछ ।

Exit mobile version