हेटौँडा : हेटौंडामा कोदो रोपाइ कार्यक्रम गरेर प्रथम राष्ट्रिय कोदो दिवस २०८२ मनाइएको छ । मकवानपुर सैनिक परिवार कृषक समुह र हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा हेटौँडा–१, बाँझोडाँडामा सामुहिक कोदो रोपाइ गरेर पहिलो राष्ट्रिय कोदो दिवस मनाइएको हो ।
हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले कोदो रोपेर उद्घाटन गर्नुभएको कार्यक्रममा उपस्थित स्थानीय कृषकहरुले कोदो खेतीका लागि बढी श्रम लाग्ने, ढिलासुस्ती हुने, खर्च बढी लाग्ने र कम उत्पादन हुने भएकोले यसका लागि कृषि औजारहरु उपलब्ध गराउन स्थानीय सरकारलाई अनुरोध गरेका छन् । कार्यक्रममा सहभागीहरुले कोदोमा प्रचुर मात्रामा आइरन लगायतका विशेष पौष्टिक तत्वहरु पाइने भइपनि नेपाली समाजमा कोदोलाई कुअन्न भन्दै हेलाको दृष्टिले हेर्ने चलन भएकोले अब कोदोप्र्रतिको सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा कृषि विकास कार्यालय चितवन, सेवा केन्द्र मकवानपुरका कृषि अर्थविज्ञ महिमा गोतामे, हेटौँडा उपमहानगरपालिकाका कृषि शाखा प्रमुख प्रदीप रेग्मी लगायत स्थानीय, वडाका जनप्रतिनिधीहरुको सहभागिता थियो । गत असार २३ गते मन्त्रीपरिषद्को निर्णय अनुसार अबदेखि साउन १६ लाई कोदो दिवसको रुपमा रुपमा मनाउने भएसँगै शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको हो । हाल नेपालमा कोदोको व्यावसायिक खेती नहुँदा वर्षेनी १८ हजार ४ सय ३ मेट्रिक टन कोदो आयात हुने गरेको तथ्याङकले देखाएको छ ।
