Home मुख्य समाचार इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्सले सेवाग्राहीलाई सहज

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्सले सेवाग्राहीलाई सहज

कार्यक्रमको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : बागमती प्रदेश सरकारको आफ्नै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (बागमती इडीएल) विकास गरी सञ्चालनमा ल्याएपछि लाइसेन्स परीक्षामा सहज भएको छ । यसले जनगुनासोमा समेत कमी आएको बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बताउनुभएको छ ।

मंगलबार मन्त्री महर्जनले मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेको प्रगति विवरण प्रस्तुत गर्दै सवारी चालक (लाइसेन्स)को सहजताबारे बताउनुभएको हो । उहाँका अनुसार ट्राफिक प्रहरीले विकास गरेको ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टिभीआरएस) प्रणालीलाई नागरिक एपमा आबद्धता गराएर नागरिक एपमार्फत् नै देखाएको लाइसेन्सलाई मान्यता दिइएको छ । बागमती प्रदेशमा पनि आफ्नै बागमती इडीएलमार्फत् सेवा दिन थालेपछि सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गराई फोटो तथा बायोमेट्रिक्स छुट्टै दिन नपर्ने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

लाइसेन्स लिनका लागि लिखित र ट्रायल परीक्षाबाहेक अन्य कामका लागि अनलाइनमार्फत् नै हुने व्यवस्था मिलाइएको मन्त्री महर्जनले स्पष्ट पार्नुभयो । बागमती प्रदेशका ८ लाख ५० हजार सवारी चालक लाइसेन्स प्रिन्ट गर्नका लागि प्रिन्टर खरिद गरिसकिएको र आगामी भदौ महिनादेखि बागमती प्रदेशले नै लाइसेन्स वितरण गर्ने उहाँको भनाइ छ । यातायात कार्यालयहरुको कागजी अभिलेखहरुको डिजिटाइजेसनका लागि डाटा इन्ट्रीकर्ताहरु छनोट भइसकेकाले २६ लाख सवारी साधनको पुराना अभिलेखलाई डिजिटाइजेसन गरिएपछि सवारी साधनसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत् गर्न सकिने उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा मन्त्रालयले १३ अर्ब ४० करोड राजस्व संकलन गरेको मन्त्री महर्जनले जानकारी दिनुभयो । बागमतीका एक हजार युवाहरुलाई सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा रोजगार दिने कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा ५ करोड रुपैया बिनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले सुरक्षित वैदेशिक रोजगार कार्यक्रम (सामी परियोजना) प्रदेशका १३ वटै जिल्लामा विस्तारित गर्ने पनि मन्त्री महर्जनको भनाइ छ । यस प्रदेशमा गत बैशाख १२ गते प्रदेश श्रम सल्लाहकार परिषद्को गठन भएकाले श्रमिकहरुको सन्दर्भमा राम्रो परिणाम हासिल हुने अपेक्षा उहाँले गर्नुभएको छ ।

Exit mobile version