Home मुख्य समाचार २ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जना मृत्यु

२ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जना मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र काभ्रे जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवन जिल्लको भरतपुर महानगरपालिका–१८, गुन्जनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय शेर बहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा थापा पानी तान्ने पम्पसेटमा लागेको आगो निभाउने क्रममा थापालाई करेन्ट लागेर घाइते भएका थिए । घाइते थापालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा दिउँसो ४ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेको बेथानचोक गाउँपालिका–३, गोर्खालीटोलमा बाटोमा लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बेथानचोक गाउँपालिका–५, च्याल्तीका ६० वर्षीय सेतेमान भोलन रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहान ८ बजेर ३० मिनेटको समयमा गोर्खाली टोलस्थित डेरीमा दुध लिएर जाने क्रममा बाटोमा लड्दा टाउकोमा चोट लागेर भोलन गम्भीर घाइते भएका थिए । भोलनलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएकोमा बिहान १० बजेर ४० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका–७, सिमडाँडामा बाटोमा चिप्लिएर लड्दा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया कुमारी राउत रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ९ बजेर ३० मिनेटको समयमा राउत बारीबाट घाँस बोकेर घर आउने क्रममा बाटोमा चिप्लिएर लड्दा गम्भीर घाइते भएकी थिइन् । घाइते राउतलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा राउतको दिउँसो १२ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version