Home मुख्य समाचार विकृत बन्दै प्रदेशको राजनीति

विकृत बन्दै प्रदेशको राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामालाई संसदीय दलको नेताबाट हटाउन दर्ता भएको अविश्वास प्रस्तावको निकास सहज नहुने देखिएको छ । लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएमा उनी संसदीय दलको नेता रहने छैनन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री लामा संसदीय दलको नेता नरहे मुख्यमन्त्रीबाट पनि हट्नुपर्ने सम्भावना उच्च छ । नेपाली कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री वा मुख्यमन्त्री बन्ने व्यवस्थाका कारण लामाले अविश्वास प्रस्तावको सामना गर्ने बताएका छन् । कांग्रेस प्रदेश संसदीय दलका ३७ सदस्यमध्ये २१ जनाको हस्ताक्षरसहित दलको नेताबाट लामालाई हटाउन अविश्वास प्रस्ताव दर्ता भएको छ । अहिले लामाको पक्षमा १६ जना प्रदेशसभा सदस्यमात्र देखिएकाले थप ३ जनालाई आफ्नो पक्षमा पार्न सकेमा अविश्वास प्रस्ताव असफल बन्नेछ ।

आफूविरुद्ध परेको अविश्वास प्रस्ताव असफल बनाउन अहिले लामा सबै प्रकारका विकल्प अपनाउन तयार देखिएका छन् । अविश्वास प्रस्तावमाथिको छलफल केही पर सार्ने, जसले आफ्नो पक्षमा प्रदेशसभा सदस्य तथा पार्टीका नेतालाई मनाउन सहज हुने उनको पहिलो योजना रहेको बताइन्छ । आफ्नो विरुद्धमा हस्ताक्षर गरेका केही प्रदेशसभा सदस्यहरुलाई मन्त्री बनाउनेदेखि अन्य प्रलोभन दिएर आफ्नो पक्षमा ल्याउने प्रयास लामाले सुरु गरिसकेका छन् । संसदीय दलको नेताबाट हटे पनि सरकारको नेतृत्व नछाड्ने योजना पनि लामाको छ । कोशी प्रदेशको नजिर अघि सार्दै लामाले मुख्यमन्त्री नछाड्ने योजना बनाउने सम्भावना पनि औंल्याइएको छ । लामाले अन्तिम विकल्पको रुपमा प्रदेशसभा विघटनको लागि सिफारिस गर्नसक्ने सम्भावना पनि चर्चामा छ । सत्ता गठबन्धन दल एमालेसँग यस विषयमा छलफल भएको बताइएको छ ।

२०७९ मंसिरको संसदीय निर्वाचनपछि बागमतीसहित सातै प्रदेशमा राजनीतिक अस्थिरता बढेको छ । सुरुवातको समयमा कोशी प्रदेशमा सरकार परिवर्तनको शृंखलाले रेकर्ड नै बनाएको भए पनि बागमती प्रदेशको अवस्था पनि गतिलो बनेन । बागमतीमा नेकपा माओवादीले पालैपालो कांग्रेस र एमालेलाई साथमा लिएर करिब डेढ वर्ष सरकारको नेतृत्व ग¥यो । केन्द्रीयस्तरमा कांग्रेस–एमालेको गठबन्धन भएपछि बागमतीमा पनि माओवादीको सरकार ढल्यो र कांग्रेसका बहादुर सिंह लामाको नेतृत्वमा करिब एक वर्षअघि नयाँ सरकार बन्यो । गठबन्धन दलहरुको सहमतिबमोजिम अझै करिब एक वर्ष सरकारको नेतृत्व गर्नुपर्ने लामाले आफ्नै दलका प्रदेशसभा सदस्यलाई समेत चित्त बुझ्ने गरी काम गर्न सकेनन् । विशेषगरी बजेटको विषयमा लामा नेतृत्वको सरकारप्रति प्रदेशसभा सदस्यको असन्तुष्टिले अविश्वासको प्रस्तावसम्म पुर्‍यायो ।

राजनीतिलाई सम्भावनाको खेल भन्ने गरिएको छ । राजनीतिमा असम्भव केही हुँदैन भन्ने भाष्य पनि नेपालका नेताहरुले स्थापित गरेका छन् । नेपालका दलीय राजनीतिलाई धेरैले विकृत बनाएका छन् । यसले विश्वमै अब्बल मानिएको संसदीय शासन व्यवस्थासमेत नेपालमा कमजोर सावित बनाइरहेको छ । राजनीति गर्नेहरु अधिकांश पद, पावर र पैसामा लिप्त भइदिँदा शासन व्यवस्थाप्रति नै वितृष्णा बढिरहेको छ । विगतमा केन्द्रमा मात्र देखिने राजनीतिक किचलो अहिले प्रदेशस्तरमा समेत विस्तार भइरहेको छ । प्रदेशमा हुने गरेको खर्चको तुलनामा उपलब्धि कमजोर हुँदा प्रदेश संरचना नै खारेज गर्नुपर्ने आवाज उठ्न थालेको छ, जसलाई यस्ता अस्थिर र विकृत राजनीतिले थप बल प्रदान गर्ने निश्चित छ ।

Exit mobile version