
हेटौंडा : बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले आफ्नो एकवर्षे कार्यकालको प्रगति विवरण तथा सम्पादन भएका योजना सार्वजनिक गर्नुभएको छ । शुक्रबार पत्रकार भेटघाटमार्फत् मन्त्री तामाङले एक वर्षको अवधिमा मन्त्रालयले गरेका कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो ।
एक वर्षभित्र मन्त्रालयले कुल बजेटको ७८ प्रतिशत खर्च गरेको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८१÷०८२ मा अघिल्लो आर्थिक वर्षको भन्दा ११ प्रतिशत बढी बजेट खर्च गरेको मन्त्री तामाङले बताउनुभयो । उहाँले प्रविधि हस्तान्तरणसम्बन्धी कार्यविधि २०८१ र तालिम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ तर्जुमा गरी कार्यान्वयनको क्रममा रहेको जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष सिन्धुलीको तीनपाटन गाँउपालिका–२, हिलेपानीमा जग्गा चक्लाबन्दी गर्न सम्भाव्यता अध्ययन सम्पन्न भई चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन भएको जानकारी दिनुभयो । यस्तै, सिन्धुलीको दुधौली र नुवाकोटको शिवपुरीमा औद्योगिक ग्राम निर्माणका लागि सम्भाव्यता अध्ययन, वातावरणीय परीक्षण प्रतिवेदन र डीपीआर निर्माण कार्य सम्पन्न भएको मन्त्रालयको भनाइ छ ।
मन्त्री तामाङले चालु आर्थिक वर्षका मन्त्रालयको योजनाहरु प्रस्तुत गर्दै प्रदेशभित्रको १३ वडाहरुमा एक वडा एक उद्यम र ५ स्थानीय तहहरुमा एक स्थानीय तह एक प्रमुख उद्योग कार्यक्रमका लागि बजेट बिनियोजन गरेको जानकारी दिनुभएको छ ।