Home मुख्य समाचार बागमतीमा सत्ता फेरबदलको चर्चा : मुख्यमन्त्री नै फेर्ने कि मन्त्री मात्र ?

बागमतीमा सत्ता फेरबदलको चर्चा : मुख्यमन्त्री नै फेर्ने कि मन्त्री मात्र ?

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा । फाइल तस्वीर ।

हेटौँडा : बागमती प्रदेश सरकारको विकल्पका विषयमा चर्चा हुन थालेको छ । कांग्रेस केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संसदीय दलको नेता रहेका बहादुर सिंह लामा नेतृत्वको सरकारको विकल्पका विषयमा पछिल्लो समय विभिन्न कोणबाट चर्चा हुन थालेको हो ।

२०८१ साउन ९ गते दुई ठुला दल कांग्रेस एमालेको गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका लामा नेतृत्वको सरकारले वर्ष दिन पूरा गरेसँगै सत्ता फेरबदलको चर्चा उर्लिएको हो । मुख्यमन्त्री लामा नेतृत्वको सरकार फेर्ने विषयमा प्रदेशसभा सदस्यहरु खुल्ला बहसमा उत्रिएका छन् भने कांग्रेस केन्द्र तहका नेता पनि विकल्पका विषयमा छलफलमा उत्रिएका छन् ।

वर्तमान गठबन्धनबाटै मुख्यमन्त्री लामा नेतृत्वको सरकारको विकल्पका विषयमा छलफल भइरहेको हो । विशेषगरी तत्कालिन समय (सरकारको नेतृत्व लिनेबेला) मा कांग्रेस शीर्ष तहमा नेता लामा र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ बीच आलोपालो आधा–आधा समय सरकार चलाउने विषयमा सहमति भएको विषयमा हाल चर्चा भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको राहेबरमा उक्त सहमति भएको र सहमति अनुसार सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्ने बहस सुरु भएको हो ।

कांग्रेसका एक नेता अनुसार बागमतीको सत्ता परिवर्तनको विषयमा २ विकल्पमा छलफल भइरहेको छ । मुख्यमन्त्रीसहित सरकारको नेतृत्व हस्तान्तरण वा मन्त्रीहरु फेरर वर्तमान मुख्यमन्त्रीको निरन्तरताका सवालमा छलफल भएको उनले बताए । हालकै अवस्थामा गठबन्धन कायम राखेर अघि बढ्नुको विकल्प नरहेकाले मुख्यमन्त्री लामालाई नै निरन्तरता दिनुपर्ने केही नेता तथा प्रदेशसभा सदस्यहरुको भनाइ रहेको उनले बताए । मुख्यमन्त्री लामालाई निरन्तरता दिने र मन्त्रीहरु भने परिवर्तन गर्ने विषयमा छलफल भएको उनको भनाई छ । उनका अनुसार अर्का तर्फ राजनीतिक सहमति बमोजिम सत्ताको नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग पनि चर्को रुपमा उठेको छ ।

कांग्रेसबाट निर्वाचित एक बागमती प्रदेशसभा सदस्य अनुसार कांग्रेस भित्र मुख्यमन्त्री वा मुख्यमन्त्री बाहेकका मन्त्रीहरु फेर्ने विषयमा बहस चलेको छ । उक्त विषयमा छलफल गत बैशाखदेखि नै चलेपनि वर्तमान मुख्यमन्त्री लामाले बजेट ल्याउन समय माग गरेको र विदेश भ्रमणपछि सरकार छाड्ने प्रतिवद्धता दिलाएका हालसम्म रोकिएको उनले बताए । सरकारको कार्यसम्पादनको विषयलाई लिएर कांग्रेस केन्द्रमा प्रश्न उठेपछि सरकारको विकल्पमा छलफल भएको उनले बताए । मुख्यमन्त्री लामा परिवर्तन गर्दा अन्य प्रदेशको सरकारमा पनि असर पर्न सक्ने भन्दै कांग्रेस केन्द्रले केही समय लगाएको उनले बताए । यद्यपी उक्त विषयमा निचोड भने नआएकाले कांग्रेस भित्र मुख्यमन्त्री लामालाई निरन्तरता दिएर मन्त्रीहरु फेर्ने विषयमा छलफल भएको उनले बताए ।

अर्का कांग्रेस बागमती प्रदेश सभा सदस्यका अनुसार सरकार परिवर्तनको बहस सुरु भएपनि प्रक्रियागत रुपमा कठिन देखिन्छ । छोड्नेले सहजै छोड्ने र बन्नेले सजिलै बन्ने अवस्था नरहेको उनले बताए । यद्यपी पार्टी केन्द्रको निर्देशन पाएकै भएर कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ विश्वस्त देखिनु भएको छ । सरकार परिवर्तनका विकल्पहरुमा छलफल पर्याप्त भएका छन् । अनौपचारिक, औपचारिकता रुपमा भएका छलफलबाट निश्कर्ष निकाल्ने तयारीमा नेताहरु रहेको उनले बताए ।

‘जानकारीमा आएसम्म आधा–आधा समय नेतृत्व गर्ने सहमति भएको र बहादुर दाईले म विदेशबाट फर्केर आएर जिम्मा लाउँछु भन्नु भएको छ रे । विषय उठेको हो । उहाँहरुको सहमति कार्यान्वयन हुनुपर्छ भन्ने प्रदेशसभा सदस्यहरुको पनि भनाई छ । त्यही भएर होला इन्द्र जी पनि विश्वस्त देखिनु भएको हो’, उनले भने, ‘त्यही अनुसार सहजै निर्णयमा पुग्न छलफल भएको भन्ने बुझिन्छ । सहमति नभए अविश्वास प्रस्तावसहित प्रक्रियाबाट टुंग्याउने र कमिटमेन्ट पुर्‍याउने गरी नेताहरुले काम गरेको भन्ने जानकारी छ । सत्ता राजनीतिमा सहमति किन नहुनु ? यदी छ भने त्यो कार्यान्वयन हुनुपर्छ ।’

मुख्यमन्त्री लामाको सचिवालयका अनुसार पछिल्लो समय सरकार परिवर्तनको विषयमा सामान्य भन्दा बाहिरका विषयहरु आइरहेका छन् । त्यसमा कुनै छलफल नै नभएको मुख्यमन्त्री लामाको सचिवालयले जनाएको छ । मुख्यमन्त्री लामाका सचिवालयका एक सदस्यका अनुसार विधान र प्रक्रिया अनुसार दलको नेता र मुख्यमन्त्री बनेको भएकाले ति विषयहरु हल्ला मात्र हो । दलको नेता माथि अविश्वास राख्ने, हस्ताक्षर संकलन गर्नेसम्मका विषयहरु आउनु केवल चर्चा मात्र सीमित रहेको उनले बताए । निर्वाचित दलको नेता भएकाले आधा–आधा समय नेतृत्व गर्ने सहमति विषयमा तुक नरहेको उनले प्रष्ट पारे । दलको नेता नै मुख्यमन्त्री हुने विधान रहेकाले सोही अनुसार प्रक्रियाबाट हटाउनु पर्ने अवस्था रहेको उनले बताए ।

उनका अनुसार सरकारको एक वर्ष पूरा गरेकाले मुख्यमन्त्रीले कार्यसम्पादनको आधारमा मन्त्रीहरु फेरबदलको विषयमा छलफल गरेका छन् । कार्यसम्पादन कमजोर ठहरिएका मन्त्रीहरु हटाउने र नयाँ मन्त्री ल्याउने विषयमा मुख्यमन्त्री लामाले होमवर्क गरिरहेको उनको भनाई छ ।

मुख्यमन्त्री लामाको काठमाडौंमा दौडधुप
सत्ता परिवर्तनको चर्चासँगै मुख्यमन्त्री लामा काठमाडौंमा नै रहेर छलफलमा जुट्नु भएको छ । उहाँ आफू निकट प्रदेशसभा सदस्यहरुसहित कांग्रेस शिर्ष नेताहरुसँगको भेटघाटमा जुट्नु भएको हो । असार २४ मा काठमाडौं पुग्नुभएका मुख्यमन्त्री लामा एक साता लामो विदेश भ्रमणबाट फर्कनु भएपनि प्रदेश राजधानी आउनुभएको छैन । काठमाडौंमा नै ४ मन्त्री र निमित्त प्रमुख सचिवको भरमा मन्त्रिपरिषद् बैठक चलाएर उहाँ सरकारको विषयमा छलफलमा जुट्नुभएको छ ।

साउन ५ मा काठमाडौं आइपुग्नुभएका मुख्यमन्त्री लामाले लगत्तै बुढानिलकण्ठ पुगेर पार्टी सभापति शेरबहादुर देउवासँग भेट्नु् भएको थियो । प्रदेश सरकारको पछिल्लो कार्यसम्पादनबाट असन्तुष्ट रहनुभएका सभापति देउवाले सरकारको विकल्पका विषयमा छलफल भइरहेको जानकारी गराउनुभएको थियो । जवाफमा मुख्यमन्त्री लामाले सरकारको कामको डिफेन्स गर्दै आफूले नेतृत्व नछाड्ने जनाउनुभएको थियो ।

कार्यक्रममा हिँड्ने तयारीमा रहनुभएका सभापति देउवाले राजिनामा दिन समेत सुझाएपनि केही दिनमा नै बसेर छलफल गर्ने आश्वासन समेत मुख्यमन्त्री लामालाई दिनुभएको थियो । उक्त विषयमा मुख्यमन्त्री लामाको सचिवालयको पनि स्वीकारोक्ति छ । केही मन्त्रीहरुको काम र बजेटका कारणले सरकारको विषयमा पार्टी केन्द्रमा प्रश्न उठ्नुका साथै मुख्यमन्त्री लामा माथि दवावको अवस्था समेत आएको सचिवालयका एक सदस्य बताउँछन् ।

मुख्यमन्त्री लामा काठमाडौंमा नै रहेर सरकारका विषयमा छलफललाई निरन्तरता दिइरहनु भएको छ । उहाँले विदेश भ्रमणबाट फर्के लगत्तै सभापति देउवा पत्नी एवम् परराष्ट्र मन्त्री अरजु देउवा राणालाई भेटेर सरकारको विषयमा छलफल गर्नुभएको थियो भने बिहीबार मात्र पार्टी प्रवक्ता डा. प्रकाश शरण महतलाई भेट्नुभएको थियो । सो लगत्तै नेता शेखर कोइराला, महामन्त्री गगन कुमार थापा, नेता मोहनबहादुर बस्नेत लगायतलाई भेट्नुभएको थियो । सरकारको विषयमा उहाँले कांग्रेस बागमती प्रदेश समितिसँग भने छलफल नगरेको मुख्यमन्त्री लामाको सचिवालयले जनाएको छ ।

देउवा समक्ष प्रदेशका मन्त्रीहरुको व्रिफिङ
बागमती सरकारको विषयमा देउवा निवास बुढानिलकण्ठमा छलफल भएको बुझिएको छ । कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई देउवाले बोलाएर व्रिफिङ लिनुको साथै सरकारको विषयमा छलफल गर्नुभएको थियो । प्रदेशमा रहेका कांग्रेसका ७ मन्त्री मध्ये ४ जना मात्र मन्त्रीहरु देउवा निवास पुगेका थिए । निवासमा पुगेर छलफलमा भाग लिएका एक मन्त्रीका अनुसार पार्टी सभापतिले विगतमा सरकारले गरेका काम कारवाहीको समिक्षा भएको हो । पाटी सभापतिको चासोको विषयमा आफूहरुले बजेट निर्माण, योजना कार्यान्वयन, अन्तरसम्बन्ध र सहकार्यका विषयमा छलफल भएको उनले बताए । बागमतीको सरकारको विषमया पनि सभापति देउवासले चासो रखेर परिवर्तनको संकेत गरेको उनले बताए । सभापति देउवाले सोझै व्यक्ति नतोके पनि संकेत भने गरेको उनले बताए ।

‘अहिलेको सरकारको विषयमा पार्टी सभापति खुसी हुनुहुन्न । बजेट निर्माण, सरकार संचालनको विषयमा उठेका विषयहरु केन्द्रीय समितिमा प्रवेश पाउने अवस्था बन्यो । केन्द्रीय सदस्यहरुले नै प्रश्न उठाउने अवस्था रह्यो । जसले पार्टी सभापतिलाई पनि असन्तुट बनाएको देखे ।’ उनले भने ।

Exit mobile version