Home मुख्य समाचार बागमती प्रदेश सिटिइभिटिमा मकवानपुरका चौलागाईसहित ६ सदस्य नियुक्त

बागमती प्रदेश सिटिइभिटिमा मकवानपुरका चौलागाईसहित ६ सदस्य नियुक्त

नवनियुक्त सदस्यहरुलाई सपथग्रहण गराउनजुहुँदै मन्त्री खड्गी ।

हेटौँडा : बागमती प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटिइभिटि) मा सदस्य नियुक्त गरेको छ । आज (साउन ८ गते) बसेको सामाजिक विकास मन्त्रीस्तरीय निर्णयअनुसार परिषदमा ६ जना सदस्य नियुक्त गरिएको हो ।

परिषदको सदस्यमा मकवानपुरका उज्ज्वल चौलागाईसहित धादिङ धुनिबेशी नगरपालिका–५ का नवराज धिताल, खैरहनी नगरपालिका–१२, चितवनका नन्दकिशोर चौधरी, घ्याङ्लेख गाउँपालिका–२ सिन्धुलीकी सीतामाया स्याङ्तान, काठमाडौं–१६ की हसना महर्जन र काठमाडौं–२८ का माधव देव पन्त मनोनित भएका छन् । ऐनको दफा ३ को उपदफा (२) खण्ड (ठ) बमोजिम प्रदेश स्तरीय ट्रेड युनियन समन्वय समितिबाट एक जना सदस्य मनोनयन हुन बाँकी रहेको छ ।

नियुक्त भएका ६ जना सदस्यहरुलाई बिहीबार सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले सपथ ग्रहण गराउनुभएको छ । ‘प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् ऐन, २०७४’ अनुसार गठित परिषद्मा सामाजिक विकास मन्त्री अध्यक्ष रहने व्यवस्था छ भने एक कार्यकारी निर्देशक रहने व्यवस्था रहेको छ ।

सो बाहेक अन्य सदस्यहरुमा नीति तथा योजना आयोग, विभिन्न मन्त्रालयका सचिवहरु, प्राविधिक तालिमका विज्ञ, उद्योग क्षेत्रका प्रतिनिधि र ट्रेड युनियन समन्वय समितिका सदस्यहरु रहने व्यवस्था छ । नियुक्त गरिएको ६ जना सदस्यहरु विज्ञता र प्रतिनिधि तर्फबाट छनौट गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा योजनावद्ध रुपमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको व्यवस्था गरी प्राविधिक जनशक्ति उत्पादन तथा प्राविधिक सीपको स्तर निर्धारण एवम् प्रमाणीकरणको क्षेत्रमा काम गर्दै आएको छ ।

Exit mobile version