हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । बिहीबार र शुक्रबार २ दिनमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ६ जनालाई पक्राउ गरेको हो ।
बिहीबार साँझ ४ बजेर ४५ मिनेटको समयमा हेटौँडा–२, सानोपोखराचोकस्थित चिया पसलबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका घर भई हाल हेटौँडा–२, सानोपोखरामा चिया पसल गरी बस्ने ४२ वर्षीया सरस्वती मुक्तान, १९ वर्षीय रोजन मुक्तान र भारतीय नागरिक २३ वर्षीय सुल्तान खानलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । चिया पसलबाट प्रहरीले १ सय ८८ क्याप्सुल लागूऔषध ट्रमाडोल र ५० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।
बिहीबार नै बिहान ११ बजेको समयमा हेटौँडा–११ र १२ जोड्ने पुल नजिक शंकास्पद रुपमा बसिरहेको अवस्थामा हेटौँडा–१२ का २२ वर्षीय नवीन श्रेष्ठ र २६ वर्षीय विजय बललाई लागूऔषध नाईट्राभेट २२ ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट हेटौँडा–१२ झोलुङ्गे पुल नजिकैको कान्छा बलको घुम्ती पसलबाट चोरी भएको भनिएको ९ बट्टा चुरोट समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै शुक्रबार बिहान साढे ११ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–२, पुरानो मनकामनापथमा डेरा गरी बस्ने २१ वर्षीय अंकित दोङलाई १ सय ११ ट्याब्लेट लागूऔषध नाईट्राभेट र ५ सय ३१ क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । पक्राउ परेका छ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
