Home अर्थ/व्यापार मनहरी बजारमा श्रममा रहेका ३ जना बालबालिकाको उद्दार

मनहरी बजारमा श्रममा रहेका ३ जना बालबालिकाको उद्दार

हेटौँडा : बालमैत्री पालिका घोषणा भइसकेको मकवानपुरको मनहरी गाउँपालिकाको मनहरी बजारमा बिहीबार बालश्रम अनुगमन गरेर श्रममा रहेका ३ जना बालबालिकाको उद्दार गरिएको छ । मनहरी गाँउपालिका वडा नम्बर ७, ८ र ९ मा रहेका मोटरसाईकल वर्कशप, होटल, वास सेन्टर लगायतमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा होटेलमा कार्यरत १४ वर्षीया बालिका, वर्कशपमा कार्यरत १५ वर्षीय बालक र जुत्ता सिलाइरहेको अवस्थाबाट १३ वर्षीय बालकलाई उद्दार गरिएको सिविन बालहेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवाली जानकारी दिनुभएकोे छ ।

वर्कशपमा कार्यरत १५ वर्षीय बालकलाई उद्दार गरेर हेटौँडा ल्याइएको र उनलाई श्रम कार्यालय पठाइने सिविन संयोजक ज्ञवालीले जानकारी दिनुभएकोे छ । होटेलमा कार्यरत बालिकालाई होटेल सञ्चालकले तत्काल घर पठाउने प्रतिबद्धता जनाए अनुसार बालिकालाई घर पठाइएको छ । यसैगरी, आफ्नै बुबासँग जुत्ता सिलाउँदै आएका बालकलाई बुबाले अब काम नगराउने प्रतिवद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।

मनहरी गाँउपालिकाकी उपाध्यक्ष सीता पुलामीको नेतृत्वमा गाउँपालिकाको बाल विकास समिति, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, प्रहरी, सिविन बालहेल्पलाइनका मकवानपुरका संयोजक झविन्द्र ज्ञवाली, प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष कुमारी वाईबा, पश्चिम क्षेत्र उद्योग वाणिज्य संघका अध्यक्ष गणेश सायमी लगायतको टोली अनुगमन गरेको हो ।

यसअघि पनि अनुगमन गर्दा बालक वर्कशपमा कार्यरत थिए र व्यवसायीले तत्काल श्रमबाट हटाउने प्रतिवद्धता जनाएका थिए । तर व्यवसायीले प्रतिवद्धता विपरित बालकलाई श्रममै राखेको पाइएकोले बालकको उद्दार गरिएको हो । होटललाई श्रम कार्यालयले कार्यवाही गर्ने उहाँले जानकारी दिनुभयो । मनहरी बजारको अनुगमन गर्दा मुख्यगरी कैलाश गाउँपालिका र राक्सिराङ्ग गाउँपालिकाका बालबालिका बालश्रममा भेटिने गरेको र पहिलाको तुलनामा अहिले बालबालिकालाई श्रममा लगाउने क्रम घट्दै गएको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version