Home मुख्य समाचार आज जिसस मकवानपुरको पाँचौ सभा, सीमित सहभागितामा स्वास्थ्य सतर्कतासाथ आयोजना गरिने

आज जिसस मकवानपुरको पाँचौ सभा, सीमित सहभागितामा स्वास्थ्य सतर्कतासाथ आयोजना गरिने

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको पाँचौ जिल्ला सभा आज आइतबार हुँदैछ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट अनिवार्य पारित गर्नुपर्ने भएकाले जोखिमको समयमा पनि सभा आयोजना गर्नु परेको बताउनुभयो ।

जिल्ला सभाको सम्पूर्ण तयारी पूरा भएको र तयारीका सन्दर्भमा शनिबार बसेको जिससको बोर्ड बैठकले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरु पूरा गरेर जिल्ला सभा आयोजना गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । जिसस प्रमुख खुलालको अध्यक्षतामा बसेको बैठकले आइतबारका लागि जिम्मेवारी बाँडफाँट समेत गरेको छ । प्रमुख खुलालका अनुसार स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड एवम् भौतिक दूरी कायम गरेर जिल्ला सभाका सदस्यहरु मात्रको उपस्थितिमा अन्य कार्यक्रमहरु कटौती गरेर सभा आयोजना गर्न लागिएको हो । “हामीले जिल्ला सभाका सदस्यहरु मात्रको उपस्थितिमा अन्य कार्यक्रमहरु कटौती गरेर नीति कार्यक्रम तथा बजेट पास गर्नका लागि मात्र सभा आयोजना गर्न लागेका हौं”, प्रमुख खुलालले भन्नुभयो ।

नेपालको संविधान २०७२ को धारा २२० को उपधारा (७) मा उल्लेख काम, कर्तव्य र अधिकारका बारेमा जिल्ला सभा गर्ने प्रावधानअनुसार जिल्ला सभा आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । जिल्ला सभामा जिल्ला समन्वय समिति मकवानपुरले हालसम्म गरेका काम कारवाही तथा आगामी नीति तथा कार्यक्रम पारित गरिने छ । सभामा आगामी नीति, कार्यक्रम सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७७/७८ को आय तथा व्ययको अनुमान सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७६/०७७ को संशोधित व्यय विवरण, विनियोजिन तथा प्रगति समिक्षा, आर्थिक वर्ष २०७५/०७६ र त्यसअघिका बेरुजु तथा संपरीक्षण सम्बन्धी प्रतिवेदन र अधिकार प्रत्यायोजन प्रस्ताव पारित गरिने उहाँले बताउनुभयो ।

सभामा मकवानपुरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, र जिल्ला सभाका पदाधिकारीहरुको मात्र सहभागिता रहने उहाँले बताउनुभयो । “हामीले जिल्ला सभा भव्य रुपमा आयोजना गर्ने र सभामा जिल्लास्थित सबै संघ/संस्थाहरुलाई सहभागी गराउने योजना हुँदा हुँदै पनि अहिलेको विशेष परिस्थितिका कारण सोँचेअनुसार कार्यक्रम आयोजना गर्न नसकिएको उहाँले बताउनुभयो । जिल्ला सभालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको प्रमुख खुलालले जानकारी दिनुभएको छ । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिससका सदस्यहरुलगायत कार्यालयका कर्मचारीहरुको उपस्थिती थियो ।

Exit mobile version