Home मुख्य समाचार बागमतीमा दलहरू बीच जुट्यो सहमति, प्रदेशसभा बैठक बस्दै

बागमतीमा दलहरू बीच जुट्यो सहमति, प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा सचिवालय भवन ।

हेटौँडा : बागमती प्रदेश सभा सञ्चालनका विषयमा लिएर दलहरुबीच सहमति भएको छ । बिहीबार दिउँसो सभामुख भुवन कुमार पाठकको नेतृत्वमा बसेको सर्वदलीय बैठकमा दलहरूबीच सहमति जुटेको हो ।

बागमती प्रदेशका ६ दल बीच भएको छलफलमा बजेटमा छुटेका विषयलाई सम्बोधन गर्ने सहमति भएको हो । बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार प्रतिपक्षीले उठाउँदै आएका विषयलाई समेट्ने गरी बैठकमा सहमति भएको हो । बैठकले बजेटलाई सन्तुलित र व्यवस्थित बनाउन सरकारले आवश्यक काम गर्ने गरी लिखित सहमति गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सरकारले बजेटमा भएका कमीकमजोरी सुधार गर्दै टुक्रे योजनालाई समेत व्यवस्थापन गर्ने गरी सहमति गरेको छ । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, एमालेसहित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी सहभागी छन् ।

सहमतिसँगै पटक–पटक रोकिँदै आएको बागमती प्रदेशसभाको बैठक सञ्चालन हुने बाटो खुलेको छ । केहीबेरमा नै प्रदेशसभ बैठक संचालन गर्ने गरी प्रदेशसभा सचिवालयले तयारी गरेको छ । यसअघि बिहीबार दिउँसो १ बजेका लागि बोलाएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । दिउँसो २ बजे पनि बैठक बस्न नसकेपछि पुनः सूचना टाँस गरेर बिहीबार दिनको ५ बजेका लागि बैठक सारिएको थियो ।

बजेटमाथिको विवादका कारण प्रदेशसभा बैठक गत असार १२ गतेदेखि प्रभावित बन्दै आएको छ । १२ गते दुईपटकसम्म सूचना टाँस गरेर स्थगित भएको प्रदेश सभा बैठक १६ गते पनि बस्न सकेन । १६ गते बस्न नसकेको प्रदेश सभा बैठक सूचना टाँस गरेर १९ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

Exit mobile version