हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, रामेछाप र दोलखा जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको राप्ती नगरपालिका–७, वीरेन्द्रनगर बजारमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । जेठ ८ गते दिउँसो १ बजेर ३० मिनेटको समयमा वीरेन्द्रनगर बजार नजिकै भण्डाराबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको ना २१ प ८२७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसँगै चालक घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मोटरसाइकल चालक राप्ती नगरपालिका–४, चौकीडाँडाका ४६ वर्षीय नेत्रमणि दनै र पैदलयात्री खैरहनी नगरपालिका–१३, गबैका ६५ वर्षीय लुरे नेपाल घाइते भएका थिए । घाइते दुवैलाई चितवन मेडिकल कलेज लगिएको थियो । पैदलयात्री नेपाललाई जेठ १८ गते डिस्चार्ज भई घर गएकोमा पुनः गाह्रो भएर असार ६ गते भरतपुर सरकारी अस्पताल लगिएको थियो । नेपाललाई शनिबार डिस्चार्ज गरी घरमा लगेकोमा बुधबार बिहान ७ बजेको समयमा घरमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक डिस्चार्ज भएकाले प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–३ मा खोलामा डुबेर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा खिम्ति वान हाइड्रोपावरको हिमाल पावर लिमिटेड कम्पनीमा सेक्युरिटी गार्डको काम गर्ने गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–८, धार्चेका ४८ वर्षीय निर्मलप्रसाद बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा पलातेखोलामा पौडी खेल्ने क्रममा निर्मल डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएको खबर पश्चात प्रहरी टोली खटिएर स्थानीयसहित खोज तलास गर्दा दिउँसो २ बजेको समयमा खोलाको १५ फिट तल घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
दोलखा जिल्लाको मैलुङ गाउँपालिका–५, कटुञ्जे ढुङगाले थिचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय कौशुव श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो २ बजेर ३० मिनेटको समयमा कौशुव आफ्नै बारीमा बाख्रा चराउन गएका थिए । ढुङ्गा माथि बसिरहेको अवस्थामा अचानक ढुङ्गा पल्टी सोही ढुङगाले थिचेर घटनास्थलमा नै कौशुवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
