हेटौँडा : ड्रिम्स म्यूजिक स्कूल प्रालिले आयोजना गरेको गायन प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यही शुक्रबार हुँदैछ । हेटौँडा–४ स्थित ओम्याक्स सिनेमा हलमा अन्तिम प्रतिस्पर्धा हुने ड्रिम्स म्यूजिक स्कूल प्रालिका प्रमुख अनन्त बहादुर खुलालले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट १२ भित्र पर्न सफल ६ वटा विद्यालयका विद्यार्थी बीच प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट १२ भित्र जनप्रिय माविका ३ जना, बालजागृति इङ्लिस सेकेन्डरी स्कूलका ५ जना, तुलसीमेहर मेमोरियल स्कूलका १ जना, त्रिभुवन माविका १ जना, जिएस निकेतनबाट १ जना र सिद्धार्थ माविका १ जना रहेका छन् । प्रालिले विद्यार्थी लक्षित विद्यालयस्तरीय प्रतियोगिताको आयोजना गरेको प्रालिका प्रमुख खुलालले जानकारी दिनुभयो । गत फागुनबाट सुरु भएको प्रतियोगिताको अडिसनमा हेटौँडाका २५ वटा विद्यालयका करिब ४ सय जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगदसहित ट्रफी र सम्मानपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजारसहित ट्रफी र सम्मानपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट १२ मा पर्न सफल सबैले ट्रफी र सम्मानपत्र प्राप्त गर्नेछन् ।
