हेटौँडा : मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका–५, ठाडेचुरीमा निर्मित आयुर्वेद औषधालय भवनको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा भवन उद्घाटन कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेता बानियाँले आयुर्वेदलाई प्राचीन मानवीय सेवा प्रणाली भएको बताउनुभयो । उहाँले आयुर्वेद एक प्रभावकारी माध्यमको रूपमा चिनाउँदै यसले आधुनिक औषधिले दिने साइड इफेक्टबाट मुक्त जनस्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । बानियाँले कम आय भएका नागरिकका लागि सर्वसुलभ र प्रभावकारी स्वास्थ्यसेवा दिन सकिने औषधालयलाई प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । स्थानीय तहसँग समन्वय गरेर अस्पतालका अन्य पूर्वाधार निर्माणमा समेत प्रदेश सरकारले सहयोग गर्ने बताउनुहुँदै नेता बानियाले राक्सिराङ्गमा वर्षौंदेखिको जग्गा पूर्जासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गरिने बताउनुभयो ।
औषधालयमा ओपीडी सेवा, ज्येष्ठ नागरिक तथा स्तनपायी महिलाका लागि विशेष स्वास्थ्य परामर्श, योग तथा पञ्चकर्म सेवा सञ्चालन हुने जानकारी औषधालय प्रमुख कविराज निरीक्षक रामवचन साहले जानकारी दिनुभयो । गाउँपालिकाको ३० लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको आयुर्वेद औषधालय २ कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको छ । औषधालय निर्माणका लागि आवश्यक जग्गा स्थानीय स्व. रामबहादुर प्रजाले निःशुल्क दान गरेका हुन् । समारोहमा गाउँपालिका उपाध्यक्ष वनस्थम थिङ, वडा नं. ५ का अध्यक्ष हरिबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, पालिका कर्मचारी र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
