Home मुख्य समाचार बागमती सरकारलाई बजेट सच्याउ वा मार्ग प्रशस्त गर्न प्रतिपक्षीको आग्रह

बागमती सरकारलाई बजेट सच्याउ वा मार्ग प्रशस्त गर्न प्रतिपक्षीको आग्रह

प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीका नेताहरु ।

हेटौँडा : बागमती प्रदेश सरकारको बजेट माथिको विवाद चुलिँदै गएको अवस्थामा प्रतिपक्षी दलहरुले बजेट सच्याउन वा मार्ग प्रशस्त गर्न माग गरेका छन् । बागमती प्रदेशसभाका प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी पार्टीले बजेट सच्याउन वा मार्ग प्रशस्त गर्न सरकारलाई आग्रह गरेको हो ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको अगुवाईमा पत्रकार सम्मेलन गरेर संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले सरकार छलफल र संवादबाट भागिररहेको आरोप लगाएको छ । प्रदेशको आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रदेशसभामा पेश भएपनि सरकारले प्रदेशसभा चलाएर बजेटमाथिको छलफल सुरु गर्न नसकेको उनीहरुको भनाई छ । सरकार छलफल र संवादबाट भागेर लगातार प्रदेशसभा बैठक स्थगन गर्दै आएको विज्ञप्तीमा उल्लेख छ ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार सरकारले बजेट संशोधन वा पुरक पुस्तक ल्याउनुपर्छ । सरकारले असन्तुलित बजेट सच्याउन वा पूरक पुस्तक ल्याउन नसक्ने अवस्था भए मार्ग प्रशस्त गर्न उहाँले आग्रह गर्नुभयो । सरकारको एकलौटी निर्णयप्रति उनको आपत्ति रहेको छ । प्रमुख सचेतक ढकालले सरकार बजेटमाथिको छलफलबाट भागिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया नीतिगत रुपमा त्रुटिपूर्ण रहेको भन्नुहुँदै त्यसमा असन्तुलन, विभेद र मिलेमतो झल्किएको दावी गर्नुभयो । उहाँले सत्तारूढ दललाई संवादका लागि आव्हान गरी बजेटको नीतिगत त्रुटिहरु सच्याउन माग गरेका छन् ।

‘सरकारसँग बहस गर्ने आँट छैन भने नैतिक जिम्मेवारी लिँदै मार्ग प्रशस्त गरोस् । सभालाई अवरोध गरेर जनताको अधिकार कुण्ठित गर्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘सरकारले दलहरूबीच कुनै समन्वय नगरी, एकलौटी रुपमा बैठक सार्दै आएको छ । सरकार बजेटमाथि छलफल सुरु गर्नुको साटो प्रदेशसभालाई बन्धक बनाउने प्रयास गरिरहेको छ । संवैधानिक व्यवस्था, संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासविरुद्धको कार्य हो । असार १ गते बजेट नआउँदाबाटै सरकारमा रहेका दल र मन्त्रीहरु बीच विवाद सुरु भएको थियो ।’

आर्थिक मामिला तथा योजना मन्त्री र मन्त्रालयका सचिवबीचको विवाद मिडियामार्फत् सार्वजनिक भएको उहाँले टिप्पणी गर्नुभयो । मन्त्रालयहरुबीच समन्वय नहुँदा सत्ताघटक दलहरुबीचको असमझदारी रहेको उहाँले दावी गर्नुभयो । सत्तारूढ घटक दलहरुका कारण असार १२ गतेदेखि प्रदेश सभा बैठक बन्द बनेको उहाँले बताउनुभयो । सत्तारुढ दलहरुको असहमति र गुटगत विवादका कारण प्रदेशसभा बैठकमा अवरोध भएको उहाँको भनाई छ । विज्ञप्तिमा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक ढकालसहित एकीकृत समाजवादीका प्रदेशसभा सदस्य बसन्त मानन्धर, राप्रपाका संसदीय दलका उपनेता गिरबहादुर तामाङले हस्ताक्षर गर्नुभएको छ ।

Exit mobile version