Home मुख्य समाचार इन्द्रसरोवरको एसईईको नतीजा सुध्रियो

इन्द्रसरोवरको एसईईको नतीजा सुध्रियो

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको एसईईको नतीजा सुध्रिएको छ । शैक्षिकसत्र २०८० को तुलना शैक्षिकसत्र २०८१ मा उल्लेख्य सुधार भएको देखिन्छ । इन्द्रसरोवर गाउँपालिकामा शैक्षिकसत्र २०८० मा १६.७ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए भने गत शुक्रबार सार्वजनिक भएको शैक्षिकसत्र २०८१ को नतीजाअनुसार ३६.२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको छ ।

इन्द्रसरोवर गाउँपालिकाका ६ वटा विद्यालयमध्ये शैक्षिकसत्र २०८० मा कालिका मावि निल गएको थियो भने शैक्षिकसत्र २०८१ मा सबै विद्यालयबाट विद्यार्थी उत्तीर्ण भएका छन् । शैक्षिकसत्र २०८० मा ८४ जना विद्यार्थी एसईईमा सहभागी हुँदा १४ जना मात्रै उत्तीर्ण भएका थिए भने शैक्षिकसत्र २०८१ मा १ सय ५ जना विद्यार्थी एसईईमा सहभागी हुँदा ३८ जना उत्तीर्ण भएका छन् ।

इन्द्रसरोवर गाउँपालिकाले पछिल्लो समय विद्यालय शिक्षाको सुधारका लागि अभिभावक सचेतना, विद्यालयमा शिक्षकको क्षमता विकास, विद्यार्थीको अनुशासन, शैक्षिक जनशक्ति व्यवस्थापनमा काम गर्दै आएको छ । शैक्षिकसत्र २०८० को तुलना शैक्षिकसत्र २०८१ मा नतीजामा सुधार भए पनि जिल्ला, प्रदेश र राष्ट्रिय नतीजाको तुलना इन्द्रसरोवर गाउँपालिकाको नतीजा न्यून रहेको छ ।

Exit mobile version