Home मुख्य समाचार एसईईमा थाहाका ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण, साधारणतर्फ सुन्दरीदेवीको नतीजा शून्य

एसईईमा थाहाका ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण, साधारणतर्फ सुन्दरीदेवीको नतीजा शून्य

हेटौँडा : मकवानपुरको थाहा नगरपालिकाका संस्थागत र सामुदायिक विद्यालयहरुबाट एसईईमा ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । नगरपालिकामा रहेका ६ वटा संस्थागत र ११ वटा सामुदायिक विद्यालयबाट ४ सय ९५ जना विद्यार्थीले परीक्षा दिएकोमा २ सय १७ जना उत्तीर्ण भएका हुन् ।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी थाहा नगरपालिकाको पालुङ मोर्डन इङ्लिस स्कूलका ४ जना विद्यार्थीले परीक्षा दिएकोमा सबै उत्तीर्ण भएका छन् । थाहा नगरपालिकाकै सुन्दरीदेवी माविका साधारण धारतर्फबाट १९ जना विद्यार्थीले एसईई दिएकोमा सबै अनुत्तीर्ण भएका छन् । सुन्दरीदेवीबाट १७ जनाले प्राविधिक धारतर्फको परीक्षा दिएकोमा एकजना मात्र उत्तीर्ण भएका हुन् ।

पालुङ भ्याली हार्ट एकेडेमीबाट २० जनाले एसईई दिएकोमा १७ जना (८५ प्रतिशत), एवन इङ्लिस बोर्डिङ स्कूलबाट २० जनाले परीक्षा दिएकोमा १५ जना (७५ प्रतिशत) र हिमालयन इङ्लिस स्कूलबाट ४२ जनाले परीक्षा दिएकोमा ३१ जना (७३.८१ प्रतिशत) उत्तीर्ण भएका छन् । पालुङ आवासीय माविबाट १४ जनाले परीक्षा दिएकोमा १० जना (७१.४३ प्रतिशत) र सरस्वती विद्या मन्दिरबाट ३० जनाले परीक्षा दिएकोमा २१ जना (७० प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् ।

सामुदायिक विद्यालयतर्फ बज्रबाराही माविका ६५ दशमलब २२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट परीक्षा दिएका २३ जना विद्यार्थीमध्ये १५ जना ग्रेडेड भएका हुन् । झम्केश्वरी माविबाट एसईई दिएका २७ जना विद्यार्थीमध्ये १५ जना उत्तीर्ण भएका छन्, जुन ५५ दशमलब ५६ प्रतिशत हुन्छ । थाहाका बाँकी सामुदायिक विद्यालयहरुको नतिजा भने पालिकाको औसत उत्तीर्ण प्रतिशतभन्दा कम छ ।

थाहा–२ को मत्स्यनारायण माविबाट परीक्षा दिएका ३२ मध्ये १४ जना ग्रेडेड भएका छन् । सुनौला माविबाट २१ जनाले परीक्षा दिएकोमा ९ जना र स्वच्छन्दभैरब माविबाट परीक्षा दिएका २६ जना विद्यार्थीमध्ये १० जना उत्तीर्ण भएका छन् । जनकल्याण माविको प्राविधिक धारका १६ जना विद्यार्थीमध्ये ६ जना र साधारण धारका ४१ जना विद्यार्थीमध्ये १३ जना उत्तीर्ण भएका छन् । यस्तै, इन्द्रायणी माविबाट एसईई दिएका २६ जनामध्ये ९ जना र नाटेश्वर माविबाट पनि परीक्षा दिएका २६ जनामध्ये ९ जना ग्रेडेड भएका हुन् ।

थाहा नगरपालिकाको सरस्वती माध्यमिक विद्यालयबाट एसईई दिएका २६ जना विद्यार्थीमध्ये ७ जना उत्तीर्ण भएका छन् । नगरपालिकाका विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी गराएको बागेश्वरी माविबाट १५ जना विद्यार्थी ग्रेडेड भएका छन् । बागेश्वरी माविबाट ६९ जना विद्यार्थीले एसईई दिएका थिए ।

Exit mobile version