हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाका ४५ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएको नतीजाअनुसार पालिकाका ६ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका १ सय ६१ जना विद्यार्थी मध्ये ४५ जना (२७.९५ प्रतिशत) विद्यार्थी उत्र्तीण भएका हुन् । गत वर्ष कैलाश गाउँपालिकाबाट १ सय ९९ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ११ जना (५.५२ प्रशित) उत्तीर्ण भएका थिए ।
कैलाश गाउँपालिकामा यस वर्ष एसईईमा सहभागी कालिका माविका ४५ मध्ये १३ जना, कमला माविका २८ मध्ये १२ जना, रत्नज्योति माविका १६ जनामध्ये ६ जना एसईईमा उत्तीर्ण भएका छन् । यस्तै भवानीका ४६ मध्ये ५ जना, धुवाङ माविका ९ जनामध्ये १ जना र व्यास माविमा ४७ मध्ये ८ जना उत्तीर्ण भएका छन् ।
गत वर्षको एसईईमा कमलादेवी मावि र रत्नज्योति माविको नतीजा निल थियो । गत वर्षभन्दा नतीजा सुधार हुनु, कुनै पनि विद्यालय निल नहुनु सकारात्मक भएको गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक दिपेन्द्र अधिकारीले जानकारी दिनुभएको छ । यो वर्ष पालिकामै परीक्षा केन्द्र कायम हुनु, विद्यार्थीका लागि परीक्षा अवधिभर परीक्षा केन्द्र भएको विद्यालयमै आवासीय सुविधा र खाने व्यवस्था पालिकाले नै गर्नुले पनि विद्यार्थीलाई सहज भएर नतीजामा सुधार भएको विश्लेषण गरिएको अधिकारीले बताउनुभयो । यस वर्षको एसईईमा कालिका माविका विद्यार्थीका लागि परीक्षा केन्द्र हेटौँडाको आधुनिक राष्ट्रिय मावि कायम गरिएको थियो भने कैलाशका बाँकी ५ वटै विद्यालयको परीक्षा केन्द्र कालिका माविमा कायम गरिएको थियो ।
