Home खेलकुद महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

गण्डकी प्रदेशविरुद्ध सट प्रहार गर्दै नेपाल पुलिस क्लबकी खेलाडी ।

हेटौँडा : हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । लिग चरणका खेल सकिएसँगै अन्तिम चारमा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबसँगै गण्डकी प्रदेश तथा न्यू डाइमण्ड युथ क्लब सेमिफाइनलमा पुगेका छन् ।

मंगलबार हुने सेमीफाइनल खेलमा नेपाल पुलिस र एपीएफ तथा गण्डकी र न्यू डाइमण्डबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘क’ बाट नेपाल पुलिस विजेता र गण्डकी उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । त्यस्तै, समूह ‘ख’ बाट न्यू डाइमण्ड युथ क्लब विजेता र एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

सोमबार सम्पन्न लिग चरणको अन्तिम खेलमा डाइमण्डले मधेश प्रदेशलाई सजिलै पराजित गर्दै समूह ‘ख’ को शीर्षस्थान हासिल गर्‍यो । डाइमण्डले मधेशलाई २५–६, २५–१८, २५–८ को सोझो सेटमा पराजित गरेको हो । मधेश प्रदेशले प्रतियोगितामा कुनै पनि खेल जित्न सकेन । यस्तै, नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१३, २५–११, २५–१९ को सोझो सेटमा पराजित गर्दै समूह ‘क’को शीर्षस्थानमा नाम लेखाएको हो । अनुभवी तथा राष्ट्रिय खेलाडीले भरिएको पुलिसको टोली सामु गण्डकी कमजोर देखिएको थियो । गण्डकीले भने लिग चरणमा एक जित निकाल्दै उपविजेता बनेको हो ।

प्रतियोगितामा २ विभागीय टोलीसहित कुल ७ टिम सहभागी छन् । विजेता टिमले ५ लाख रुपैयाँ नगद, उपविजेताले ३ लाख, तेस्रो हुनेले १ लाख, र चौथो स्थान हासिल गर्ने टिमले ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । साथै, विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Exit mobile version