प्रतिबन्धित लागूऔषधसहित तीन जना युवालाई मकवानपुर प्रहरीले शुक्रबार पक्राउ गर्यो । हेटौँडा–१० स्थित एक होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले १८ देखि २२ वर्षसम्मका तीन जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । उनीहरुबाट प्रहरीले नाइट्राभेट, ट्रामान, नोफिन, फेनार्गन र डाइजेपाम बरामद गरेको हो । विशेष सूचनाकै आधारमा बुधबार साँझ हेटौँडा–४ बाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा हेटौँडा–४, कमलडाँडा बस्ने ३३ र ४२ वर्षका छन् । सोमबार साँझ हेटौँडा–८, कमानेका ३० वर्षीय युवकलाई प्रहरीले विशेष सूचनाको आधारमा लागूऔषध नाइट्राभेट र डाइजेपामसहित पक्राउ गरेको थियो । लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले हेटौँडा–२ बाट शनिबार ३ जनालाई पक्राउ गरेको थियो । विशेष सूचनाको आधारमा प्रहरीले २० वर्षीय एक जना र २४ वर्षीय दुई जना युवालाई पक्राउ गरेको हो । शनिबार नै लागूऔषध र हतियारसहित विशेष सूचनाको आधारमा मकवानपुरको राक्सिराङ–१ का एक जनालाई प्रहरीले पक्राउ गर्यो । प्रहरीले लागूऔषध अफम र गाँजा साथै २ थान पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गर्यो ।
मकवानपुर प्रहरीले पछिल्लो एक साताभित्र विशेष सूचनाको आधारमा ८ प्रकरका लागूऔषधसहित १० जना लागूऔषध सेवनकर्ता र कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ परेका अधिकांश २४ वर्षमुनिका युवा छन् । राक्सिराङबाहेक हेटौँडाका चार वटा वडाबाट पक्राउ परेका ९ जना लागूऔषध सेवनकर्ता रहेको अनुमान गर्न सकिन्छ । धेरै प्रकारका लागूऔषध थोरै परिमाणमा घर तथा होटलबाट बरामद गरिनुले पक्राउ गरेकाहरु लागूऔषध दुव्र्यसनी हुनसक्ने अनुमान गरिएको हो । मकवानपुर जिल्ला र हेटौंडा उपमहानगरपालिका लागूऔषध उत्पादन, ओसारपसार र सेवनकर्ता सबैका लागि उर्बर भूमि बनिरहेको यी घटनाले पुष्टि गर्दछ । दिनहुँजसो विभिन्न ठाउँबाट लागूऔषध बरामद र संलग्न मानिस पक्राउ परेका घटनाले लागूऔषधले गम्भिर समस्या निम्त्याउने जोखिम बढाएको छ ।
लागूऔषध दुव्र्यसनको समस्याले युवाहरुलाई निकम्मा बनाइरहेको छ । घरपरिवार र अभिभावकले पर्याप्त ध्यान दिन नसक्दा कलिलै उमेरमा लागूऔषधको कुलतमा फस्नेहरु प्रशस्तै हुने गरेका छन् । लागूऔषध दुव्र्यसनले घरपरिवारमा कलहमात्र होइन, समाजमा अपराध र अराजकता बढाउने गरेको छ । यसले विभिन्न संक्रामक रोगको जोखिम बढाउनुका साथै युवा पुस्ताको भविष्य अन्धकार बनाउने गरेको छ । लागूऔषध दुव्र्यसनमा फसेकाहरुको भविष्य, स्वास्थ्य र जीवनमाथि गम्भीर र नकारात्मक असर पुगिरहेको छ । लागूऔषधसहित पक्राउ परेकाहरुलाई प्रहरीले मुद्दा चलाउने र दोषीलाई सजाय दिलाउने गरेको भए पनि यस समस्या कम हुन सकेको छैन । प्रहरीले आकस्मिक चेकजाँच र विशेष सूचनाको आधारमा लागूऔषध ओसारपसारमा संलग्न र सेवनकर्तालाई पक्राउ गरे पनि यसको कारोबारमा संलग्न गिरोहलाई पक्राउ गर्न नसक्दा समस्या भयावह बन्दै गइरहेको छ ।
लागूऔषधका कारण युवापुस्ता नै कुलतमा फस्ने हो भने यसले देशको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, नैतिक सबै पक्षमा अकल्पनीय नकारात्मक असर पर्ने निश्चित छ । यसले कलिला उमेरका किशोरकिशोरीसमेत लागूऔषध दुव्र्यसनको शिकार हुनुपर्ने खतरा पनि बढाएको छ । लागूऔषध दुव्र्यसनको समस्या समाधानका लागि सरकारको मात्रै भर परेर हुने अवस्था छैन । प्रत्येक घरपरिवारबाटै लागूऔषधविरुद्ध जागरुक हुनु आवश्यक छ । अभिभावकले घरपरिवारमा, शिक्षकले स्कूलकलेजमा, समुदायले सार्वजनिक स्थलमा पर्याप्त निगरानी गर्नुपर्छ । प्रहरी प्रशासनले पनि लागूऔषध कारोबारीहरुको नेटवर्क पत्ता लगाएर गिरोहलाई नै खतम गर्न सक्नुपर्छ ।
