Home अर्थ/व्यापार बैंकको व्यवहारप्रति व्यवसायीको गुनासो

बैंकको व्यवहारप्रति व्यवसायीको गुनासो

छलफलमा सहभागी बैंकका शाखा प्रबन्धक र मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी ।

हेटौँडा : मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार हेटौँडामा बैंकिङ क्षेत्रका सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका क्षेत्रका व्यवसायी, विभिन्न बैंकका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्देश्य व्यवसायीहरूले भोगिरहेका बैंकसम्बन्धी समस्या, जटिलता तथा समाधानका उपायहरूबारे खुला संवाद गर्नु रहेको आयोजकले जानकारी गराएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले हालको मन्दीको अवस्थामा बैंकहरूले व्यवसायीप्रति लचिलो र समझदारीपूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा व्यवसायीहरू भाग्ने होइनन् । दुई–चार किस्ता ढिलो हुनुलाई ठूलो समस्या नबनाई केही लचकता देखिनुपर्छ ।’

अध्यक्ष रानाभाटले छोराले लिएको ऋणको कारण देखाएर घरमा पुगेर आमाबुबालाई मानसिक दबाब दिइने प्रवृत्तिप्रति आपत्ति जनाउँदै बैंकहरूलाई सामाजिक संवेदनशीलता देखाउन आग्रह गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘अफिस समय बाहेक पनि राति–बिहान घरमा गएर दवाब दिने शैलीले समस्याको समाधान हुँदैन । बैंकको पनि आन्तरिक लक्ष्य हुन्छ, त्यसप्रति हाम्रो बुझाइ छ, तर सहकार्यबाट समाधान खोज्न हामी तयार छौँ ।’

छलफलमा सहभागी केही व्यवसायीहरूले कर्जाको नवीकरणमा हुने ढिलाइ, उच्च व्याजदर, अत्यधिक कागजी प्रक्रिया तथा सेवाग्राहीसँगको व्यवहारमा देखिने असहजता जस्ता समस्या औँल्याएका थिए । उनीहरूले बैंकप्रति सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै पारस्परिक विश्वास कायम राख्न आग्रह गरे । बैंकका प्रतिनिधिहरूले व्यवसायीहरूको गुनासोप्रति चासो व्यक्त गर्दै नीतिगत र प्रक्रियागत सीमाभित्र रहेर सम्भव सुधारका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाएका थिए । बैंकरले यतिबेला कर्जाको व्याजदर न्यून भएकोले लगानीका लागि उपयुक्त अवसर भएको बताएका छन् ।

Exit mobile version