हेटौँडा : हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर–१ का अध्यक्ष सविन न्यौपाने माथि कालो मोबिल छ्यापिएको छ । बुधबार दिउँसो ३ः५० बजेको समयमा वडा कार्यालय भित्रै अध्यक्ष न्यौपाने माथि कालो मोबिल छ्यापिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपरिचित व्यक्तिको एक समूहले वडा अध्यक्ष न्यौपानेलाई कालो मोबिल छ्यापेको हो । वडा कार्यालयमा कार्यकक्ष भित्र बसिरहेका अध्यक्ष न्यौपानेलाई नम्बर खुल्न नसकेको २ वटा मोटरसाइकलमा आएका ३÷४ जना व्यक्तिले मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा मोबिल छ्यापिएको हो । मोबिल छ्यापेर फरार रहेका व्यक्तिहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । भूमिहिन सुकुम्बासी सम्बन्धी समस्याको व्यवस्थापन गर्ने विषयमा भएको जग्गाको विवादले अध्यक्ष न्यौपाने माथि मोबिल छ्यापिएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थालमा भूमिहिन सुकुम्बासी लेखिएको खाली रेकर्ड फाईल समेत फेला परेको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो ।
केहि अघिबाट हेटौँडा अस्पताल पछाडिस्थित सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगरपालिका र वडाले संरक्षणको कदम अघि बढाएको थियो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमिन संरक्षण दायित्व स्थानीय तहको रहेको स्थानीय तह सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिता २०७४ लगायत कानुनको पालना गर्दै आफ्नो काममा लागीरहँदा अध्यक्ष न्यौपानेमाथि कालो मोबिल छ्यापिएको हो ।
घटनामा संलग्नहरुको पहिचानका लागि सिसिटिभी क्यामेराको दृश्य विश्लेषण तथा फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता अर्यालले बताउनुभएको छ ।
