हेटौँडा : रसुवा, सिन्धुपाल्चोक र चितवन जिल्लामा भएको छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । रसुवामा निर्माण मजदुरको काम गर्ने क्रममा मंगलबार मृत्यु भएको हो भने सिन्धुपाल्चोकमा सोमबार पौडी खेल्ने क्रममा एकजनाको मृत्यु भएको हो । यस्तै चितवनमा सवारी दुर्घटनामा परी मंगलबार एकजनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
रसुवा जिल्लाको कालिका गाउँपालिका–१, ग्राङ बजारमा निर्माणाधिन गुमबामा घेवा बनाउने क्रममा मंगलबार दिउँसो भर्याङको ढलान भत्किएर थिचिँदा ४३ वर्षीय चिर्की तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भर्याङ भत्किएर थिचिँदा चिर्की तामाङ गम्भीर घाइते भएका थिए । चिर्की तामाङलाई उपचारका लागि धुन्चेस्थित रसुवा अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले चिर्कीको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ । भर्याङको ढलान भत्किएर थिचिँदा ४० वर्षिय छोपेमा तामाङ घाइते भएकी थिइन् । छोपेमा तामाङको स्थानीय मेडिकलमा सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–६, हाब्रास्थित बल्कुकुना खोलामा डुबेर २४ वर्षीय राजकुमार योञ्जनको मृत्यु भएको छ । जुगल गाउँपालिका–५, बराम्चीका योञ्जन सोमबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । योञ्जनको शव सोमबार साँझ ६ बजे निकालेको प्रहरीले जनाएको छ ।
यस्तै चितवन जिल्लाको भरतपुर महानगरपालिका–१९, बुद्धटोलमा मंगलबार बिहान ना ५ ख ८८७ नम्बरको बस व्याक गर्ने क्रममा बसको पछाडी प्रदेश ३–०३–००३ प २२७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भरतपुर–२० का १६ वर्षीय विवेक थापा मगरको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । विवेकको उपचारको क्रममा मंगलबार बिहान ७ बजेर ३३ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस र बस चालक भरतपुर–२७ का ४०वर्षीय सुशील बरालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
