Home अर्थ/व्यापार बागमतीको बजेट, यस्ता छन् नयाँ कार्यक्रम

बागमतीको बजेट, यस्ता छन् नयाँ कार्यक्रम

हेटौँडा : बागमती सरकारको बजेटमा केही नयाँ कार्यक्रम समेत समावेश गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेटमा नयाँ ढंगका कार्यक्रम र नाराहरु समावेश गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पिपिपी मोडलमा कृषि उपज बजार केन्द्रको स्थापना, प्रदेशका विभिन्न १६ पालिकामा विषादी अवशेष परिक्षण प्रयोगशालाको स्थापना, आधुनिक वधशाला निर्माण, एक जिल्ला एक कृषि उत्पादन पकेट क्षेत्र लागू गरिने, चितवनमा गोलभेडा र दोलखामा किवि प्रशोधन केन्द्र निर्माण गरिने कार्यक्रम ल्याएको हो ।

प्रदेश सरकारले निक्षेप तथा कर्जा सुरक्षणको साझेदारीमा सहुलियतपूर्ण कार्यक्रम लागू गरिने, दोलखाको डाँङ्डुङेमा फिल्म सिटिको निर्माण, हेलम्बु ग्रेट टेल, किस्पाङ नौ घडेरी पर्यटन, सैलुन मिनि ग्रेट्वाल निर्माण गर्न बजेट कार्यक्रम प्रस्तुत गरेको छ । सरकारले गोकर्णेश्वरमा राजनीतिक क्रान्ति संग्रहालयको निर्माण, मकवानपुरगढीदेखि सिन्धुलीगढी, कालिगण्डकी देखि कालिन्चोक, गौरिघाट देखि गोसाइँकुण्ड र रानिपोखरीदेखि पाँचपोखरी पदमार्ग पहिचान तथा धर्मिक पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम बजेटमा समावेश गरेको छ ।

सरकारले चितवनलाई पर्यटन हवको रुपमा विकास गर्ने, चेपाङ, चिउरी र चमेरो कार्यक्रम, एक कार्यालय एक वस्तु विकास केन्द्र, मदन भण्डारी राजमार्ग र पुर्व पश्चिम हात्तिसुडे झुरझुरे, झन्झने, मरिण, छाप, भिमान, डकाहा, खोर, भन्ज्याङ र भण्डारा लाई व्यापारिक केन्द्रको रुपमा विकास गर्ने, एक स्थानीय तह एक प्रमुख उद्योग, एक वडा एक उद्यम कार्यक्रम, जलवायु न्याय र जलवायु परिवर्तन सम्बन्धि कार्यक्रम बजेट मार्फत् अघि सारेको छ । सरकारले निजी क्षेत्रको व्यवस्थापनमा चितवनको बागेश्वरीमा प्राङ्गारिक मल कारखाना स्थापना, स्वदेशी काठको प्रयोग अनिवार्य गर्न प्रदेशका जिल्लामा वन पैदावर आपूर्ति समिती गठन गरी डिपो मार्फत काठ उपलब्ध गराउने, निजि क्षेत्रको साझेदारीमा रोजगार मेलाको आयोजना गर्न बजेट विनियाजन गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा राइड सेयरिङ सेवालाई कानुनी दायरामा ल्याउने, प्रदेशबाट इम्बोसड नम्बर प्लेट अनिवार्य गर्ने, एक जिल्ला एक स्वस्थ सहरको अवधारणा र एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था स्थापना गर्ने, पाठेघर क्यान्सर भएकालाई थप उपचार सहुलियत प्रदान गर्ने, दुर्गम गाउँपालिकामा एक ग्रामीण स्वस्थ्य संस्था एक अल्ट्रासाउन्ड कार्यक्रम अघि सारेको छ । प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर विकास गर्ने, एमडी र एमविविएस अध्यापन, भक्तपुर र सिन्धुलीको अस्पतालमा नर्सिङ विषय अध्यापन गराइने, पिपिपी मोडलमा प्रदेशमा औषधि उत्पादन केन्द्र स्थापना, ड्रग एण्ड टक्सिकोलोजी केन्द्र स्थापना, प्रादेशिक अस्पतालमा विशेषग तथा विशिष्टिकृत एवं रोवोटिक्स शल्यक्रिया कार्यक्रम लागू गर्न बजेट विनियोजन गरेको छ ।

पहाडका गह्रा सधै हराभरा, आर्थिक समृद्धि सामाजिक रूपान्तरणका लागि शिक्षित जनता कार्यक्रम मार्फत मानव विकास सूचकांकमा पछि परेका स्थानिय तहको शैक्षिक गुणस्तर सुधार गर्ने, भिम वहादुर तामाङ शैक्षिक गुणस्तर सुधार कार्यक्रम, प्रदर्शनी तथा विज्ञान प्रविधि मेला, काठमाडौको किर्तिपुरमा सूचना प्रविधी सिकाइ केन्द्रको स्थापना, ललितपुरको गोदावरीमा वहुउद्देशिय अन्तरास्ट्रिय रंगशाला निर्माण, भिमेश्वरमा बहुयुद्देशिय रंगशाला, एक निर्वाचन क्षेत्र एक बहुउद्देश्यीय रंगशाला निर्माण कार्यक्रम, आइस हक्की र पर्वतिय तथा साहशिक खेलकुद प्रवद्र्धन कार्यक्रम, बागमती प्रदेश शिव सर्किट परियोजना मार्फत ६४ शिव लिंगको परिक्रमा कार्यक्रमहरु बजेटमा समावेश गरिएको छ ।

Exit mobile version