हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले ढुंगा, गिट्टी, बालुवाको कर संकलन गर्न नियुक्त गरेको दैनिक ज्यालादारी कर्मचारीहरुलाई असार १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको छ । उपमहानगरपालिका क्षेत्रभित्र रहेका खहरे, खोला र नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरी हुनसक्ने चोरी निकासी रोक्न र चोरी निकासी भएमा जरिवाना गर्न राखेका कर संकलकहरुलाई अवकास दिने भएको हो । हेटौंडा उपमहानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाले चार जना एमबीबीए अध्ययनरत विद्यार्थीलाई जनही ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । कलेज अफ मेडिकल साइन्सेस टिचिङ हस्पिटलमा अध्ययनरत हेटौंडा–१५ की कृष्टिना तितुङ, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा अध्ययनरत हेटौंडा–५ की शाम्भवी ठकुरी, काठमाडौं मेडिकल कलेजमा अध्ययनरत हेटौंडा–४ का सफल आचार्य र चितवन मेडिकल कलेजमा अध्ययनरत हेटौंडा–१९ का पविन बर्तौलालाई जनही ५ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।
हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने निर्णय गरेको छ । उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण गर्ने प्रक्रियासमेत अघि बढाउने भएको हो । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका निजी भौतिक संरचना (घर, टहरा) भत्काउन र जग्गा खाली गराउन १५ दिने सूचना जारी गर्ने निर्णय गरेको छ । तोकिएको समय सीमाभित्र अतिक्रमित जग्गा खाली नगराए प्रचलित कानुनबमोजिम निजी भौतिक संरचना हटाउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम उपमहानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको एकीकृत लगत संकलन गर्ने निर्णय गरेको छ । सार्वजनिक जग्गा संरक्षणका लागि प्राविधिकमार्फत् लगत संकलन गर्ने निर्णय गरेको हो । २०७५ सालको माघ महिनामा उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जग्गाको अभिलेख संकलन गरेर व्यवस्थापन गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन सकेको थिएन ।
कार्यपालिका बैठकले आगामी साउन १ गतेबाट नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र सेवा केन्द्रहरुको साइनबोर्ड, लेटरप्याड तथा अन्य कागजातहरुमा तामाङ र नेपाल भाषा अनिवार्य लागू गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा कार्यान्वयन हुने गरी स्वीकृत भएको दुईवटा योजना तथा कार्यक्रम संशोधन गर्ने निर्णय गरेको छ । हेटौंडा–११ स्थित नेपाल परिवार नियोजन संघको सहकार्यमा ल्याब सञ्चालन गर्ने ३ लाख बजेट विनियोजन गरेको कार्यक्रमलाई ल्याबका लागि मेशिन खरिद गर्नेगरी संशोधन गरेको छ । यस्तै, ३ लाख १५ हजार रुपैयाँ बजेट रहेको हेटौंडा–८ स्थित राजपानी धारा मर्मत निर्माण कार्यलाई राजपानी टोल राजपानी धारामा सतल निर्माण गरिएको गत वर्षको दायित्व भुक्तानी गर्ने गरी संशोधन गरेको हो ।
कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम तर्जुमा समितिले तयार पारेको बजेटको मस्यौदामाथि छलफल गरेको छ । मस्यौदामा समावेश कार्यक्रम र बजेटलाई विषयगत समितिको निर्णयसहित स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट निर्धारण गरिएको बजेटको सीमाभित्र रही पेश गर्न लगाउने निर्णय कार्यपालिका बैठकले गरेको छ । बजेटको निर्धारित सीमाभन्दा थप विनियोजन गर्नुपर्ने भएमा राजस्व परिमर्श समितिबाट आम्दानीसमेत अनुमान गरी परिमार्जनसहित आगामी कार्यपालिका बैठकमा पेश गर्न निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
