हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–१२ मा रहेको सेतीदेवी आधारभूत विद्यालयको ३४ औं अभिभावक भेला सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको विद्यालयकी प्रधानाध्यापक गोमा श्रेष्ठ रानाभाटले जानकारी दिनुभयो ।
भेलाको अवसरमा अनुशासित, सरसफाई र विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । यस्तै कक्षा १ देखि ८ कक्षासम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो । विद्यालयलाई सहयोग गर्नुभएका संस्थाका संस्थापक र विद्यालयबाट जानुभएका शिक्षकहरूलाई सम्मान गरिएको छ । विद्यालयलाई सहयोग गर्ने इस्थर बेन्जामिन स्मृति संस्थाका संयोजक बुद्धवीर लामा र व्यवस्थापक प्रेम केसीलाई सम्मान गरिएको छ ।
संस्थाले आर्थिक विपन्न ८ जना बालबालिकालाई व्याग, पोशाक, शैक्षिक सामग्री सहयोग गरेको छ । साथै गत वर्ष संस्थाले विद्यालयलाई ३ लाख बराबरको रङ्गीन जस्ता पाता सहयोग गरेको थियो । संस्थाले हरेक वर्ष शैक्षिक सामग्रीहरू वितरण गर्दै आएको प्रधानाध्यापक रानाभाटले जानकारी दिनुभयो । विद्यालयबाट सरुवा भएर गएका शिक्षकहरुलाई पनि सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम रत्न भुलुनको सभाध्यक्षता तथा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक गोपालबहादुर नेसुरको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा १२ नम्बर वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, शिक्षक, अभिभावक, कर्मचारीको उपस्थिति रहेको थियो ।
