हेटौँडा : बागमती प्रदेशसभामा ६ वटा विषयगत समितिको प्रतिवेदन प्रस्तुत भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा ६ वटा विषयगत संसदीय समितिको वार्षिक प्रगति प्रतिवेदन पेश भएको हो ।
प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिका सभापति नुरज श्रेष्ठ र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
बैठकले प्रदेश चलचित्र विकास सम्बन्धी विधेयकलाई विषयगत समितिमा पठाउन स्वीकृति प्रदान गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र विकास सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेश गर्नुभएको थियो । सो प्रस्तावलाई प्रदेशसभा बैठकले सर्वसम्मत रुपमा विषयगत समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति प्रदान गरेको हो । त्यसअघि बैठकमा प्रदेशसभाका सदस्यहरुले शुन्य समयमा आफ्ना धारणाहरु राखेका थिए ।
