हेटौँडा: बागमती प्रदेशसभाको बैठक आज शुक्रबार बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूचि रहेको छ ।
प्रदेशसभाका सभामुख भवन कुमार पाठकका अनुसार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेश गर्ने कार्य सूचि रहेको छ । प्रदेश सरकारको बजेट कार्यक्रम प्रदेश सभामा पेश गर्नुपूर्व आर्थिक सर्वेक्षण पेश गर्ने प्रक्रिया रहेको उहाँले जानकारी दिनुभयो । प्रदेश वा क्षेत्रको आर्थिक अवस्था, संरचना, प्रगति, समस्या र सम्भावनाको समग्र मूल्यांकन गरी नीति निर्माण, बजेट तयार पार्ने प्रक्रिया, तथा दीर्घकालीन योजना बनाउने आधार स्तम्भका रुपमा आर्थिक सर्वेक्षणलाई लिइन्छ ।
एक आर्थिक वर्षमा भएको आर्थिक गतिविधिहरुको समिक्षा (उत्पादन, रोजगारी, गरिवी, उद्योग, कृषि, सेवा, राजस्व, आय–व्यय आदि सूचकहरुको विवरण) गरी तयार गरिने सांख्यिकीय र विश्लेषणात्मक प्रतिवेदन (आर्थिक सर्वेक्षण) नीति निर्माणका लागि आधार तयार पार्न, आगामी बजेट तथा विकास योजनाको रुपरेखा निर्धारण गर्न, अर्थतन्त्रको स्वास्थ्य मूल्यांकन गर्न, सूचना पारदर्शिता र जवाफदेहितासहित विकास र सुधारको योजना निर्माण, लगानीकर्ताको मार्गनिर्देशन तथा नीतिगत निर्णय लिन तयार गर्ने गरिन्छ ।
प्रदेश सरकारले आगामी असार १ गते प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत हुनेछ । शुक्रबारको प्रदेशसभाको बैठकमा प्रदेशसभाका विषयगत समितिहरुको वार्षिक प्रतवेदन समेत पेश हुने कार्यसूचि रहेको सभामुख पाठकले बताउनुभयो । प्रदेशसभाका विषयगत ६ वटा समितिहरु रहेका छन् ।
