बढ्दो सवारी साधन दुर्घटना कम गर्न मकवानपुर जिल्लाका सरोकारवालाहरु प्रतिबद्ध भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको अगुवाइमा मंगलबार हेटौंडामा भएको सचेतना अभिवृद्धि छलफल तथा प्रतिबद्धता कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरणमा चासो व्यक्त गरिएको हो । यातायात व्यवसायी, सवारी चालक, प्रहरी अधिकारी र नागरिक समाजलगायत सबै पक्षलाई एकै ठाउँमा भेला गराएर भविष्यमा सवारी दुर्घटनाको दर घटाउने लक्ष्यका साथ कार्यक्रम गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयसमेतको सहभागितामा भएको कार्यक्रममा सहभागी सरोकारवालाहरुले दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । छलफलबाट मकवानपुर जिल्लासँगै बागमती प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुमा सजावटका लागि प्रयोग गरिएको झल्लर हटाउने सहमति भएको छ । यस्तै, सवारी दुर्घटनाको कारण बन्ने गरेको प्रेसर हर्न तथा फोकस लाइट प्रयोगमा प्रतिबन्ध लगाइने निर्णय भएको छ ।
नेपालमा सबैतिर पहुँच भएको यातायातका साधन भनेको सडक यातायात हो । देशभर सडक सञ्जालको विस्तार र यातायात साधनको वृद्धिसँगै दुर्घटनाको दर पनि बढिरहेको छ । सवारी साधन दुर्घटना भएर धनजनको क्षति भएका समाचार दिनहुँ सार्वजनिक भइरहेका छन् । हवाई, रेल, जल, रोपवेजस्ता अन्य यातायात सेवालाई जोड्ने सडक यातायातले नै हो । सडक यातायातबिना अन्य यातायातका साधनको कुनै औचित्य हुँदैन । गाउँ, बस्ती, शहर, बजार जताततै सहज आवागमनका लागि सडक यातायातको प्रयोग गर्नैपर्छ । यस्ता सडक र सडकमा गुड्ने सवारी साधन सुरक्षित र भरपर्दो हुनु अनिवार्य भए पनि हामीकहाँ यसतर्फ सरकार, यातायात व्यवसायी, सवारी चालक, यात्रु सबै पक्ष गम्भीर बन्न सकेको देखिँदैन । प्रत्येक दिन जताततै सवारी दुर्घटनाको घटनाले धेरैलाई झस्काउने गरेको भए पनि त्यसलाई सबैले चाँडै बिर्सने गरेका छन् ।
हाम्रो जीवनयात्रासँगै जोडिएको सडक र त्यसमा गुड्ने सवारी साधन दुबै सुरक्षित छैनन् । संघ, प्रदेश र स्थानीय सरकारले बजेटको ठूलो हिस्सा पनि सडक निर्माण, मर्मत र स्तरीकरणमा लगानी गरिरहेको छ । गाउँगाउँसम्म सडक यातायातको पहुँच बढ्दै गएकाले दुर्घटनाको दर पनि बढेको छ । सवारी साधन दुर्घटनाका धेरै कारणहरु छन् । सबैभन्दा बढी दुर्घटना सवारी चालकको लापरबाहीबाटै हुने गरेको प्रहरीकै तथ्यांकले उजागर गर्दछ । तिब्र गतिमा सवारी साधन चलाउनुलाई पनि दुर्घटनाको महत्वपूर्ण कारण मानिएको छ । मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन (लापसे) सवारी दुर्घटनाको अर्को प्रमुख कारण हो । जथाभावी अगाडिको सवारी साधनलाई ओभरटेक गर्ने र लेन अनुशासन पालना नगर्ने कारणले पनि सवारी साधन दुर्घटना हुने गरेका छन् । यस आधारमा सवारी दुर्घटनाको मुख्य कारण मानवीय लापरबाही भएको पुष्टि हुन्छ । सडकको दुरावस्था, सवारी साधनमा आउने यान्त्रिक गडबडी, पैदलयात्रुको लापरबाही र अत्यधिक भारबहन पनि दुर्घटनाका कारण हुन् ।
सवारी साधनको दुर्घटना शून्य बनाउन नसकिए पनि कम गर्न सकिन्छ । सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतना र उपाय अवलम्बन गरिए पनि दुर्घटना भइरहेकै छन् । एउटा पक्षले मात्र चाहँदैमा सवारी दुर्घटना कम गर्न सकिँदैन । सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला सबै पक्षको चासो र चिन्ता हुनुपर्छ । नियमनकारी सरकारी निकाय, यातायात व्यवसायी, सवारी चालक, यात्रु, सर्वसाधारण सबै पक्ष जिम्मेवार र जवाफदेही हुने हो भने दुर्घटना न्यूनीकरण सम्भव हुन्छ ।
