Home मुख्य समाचार पुराना दल र नयाँ चुनौती, मकवानपुरको बदलिँदो राजनीतिक परिदृश्य

पुराना दल र नयाँ चुनौती, मकवानपुरको बदलिँदो राजनीतिक परिदृश्य

नेपालको लोकतान्त्रिक अभ्यासमा पछिल्ला केही दशकयता व्यापक राजनीतिक अस्थिरता, नेतृत्वको अकर्मण्यता र जनताको आक्रोश बढ्दै गएको छ । हरेक निर्वाचनमा नयाँ आशा, नयाँ योजना र परिवर्तनका सपना त छन्, तर जब निर्वाचन समाप्त हुन्छ फेरि पहिलेकै अनुहार सत्ता सञ्चालनमा देखा पर्छन्, जनतामा गहिरो वितृष्णा पैदा हुन्छ । यही सन्दर्भमा, मकवानपुर जिल्लाको २०८४ सालको संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन एक महत्वपूर्ण मोडमा उभिएको छ । यो केवल व्यक्तिहरूको परिवर्तन गर्ने निर्वाचन होइन, नीतिको, दृष्टिकोणको र स्थानीय विकासको पुनः मूल्यांकन गर्ने घडी पनि हो ।

मकवानपुरको राजनीतिक इतिहास हेर्दा, दोहोरिने अनुहारहरू, पार्टीको सन्तुलनको राजनीति र आन्तरिक गुटबन्दीको असर प्रस्ट देखिन्छ । मकवानपुर–१ क्षेत्र यसकै ज्वलन्त उदाहरण हो, जहाँ विगतमा कमल थापाले एकपटक विजयी भएका थिए भने कृष्ण दाहालले उनलाई पराजित गर्दै लगातार चुनाव जितेका थिए । कमल थापालाई पराजित गर्ने नेताका रूपमा दाहाल स्थापित भएपनि, पछिल्लो निर्वाचनमा एक फरक तर अत्यन्तै जटिल मोड देखा प¥यो त्यही कमल थापाले वर्षौँदेखि राजनीति सिकाएका र पटक–पटक अवसर दिँदै आएका चेला दीपक बहादुर सिंहले नै उनलाई पराजित गरे । यो जित केवल एउटा उम्मेदवारको जित मात्र थिएन, यो विश्वासघात र आन्तरिक गुटबन्दीको राजनीतिक परिणाम थियो ।

दीपक बहादुर सिंहले नेपाली कांग्रेसको एउटा सशक्त गुटको सहयोगमा राप्रपा उम्मेदवार भएर मैदानमा उत्रिए । सांगठनिक रूपमा कमजोर अवस्थामा रहेको राप्रपाले अन्य दलहरूसँगको गठबन्धनको अभावमा एक्लै चुनाव लड्दा पनि, सिंहले माओवादी, समाजवादी र कांग्रेसको गठबन्धन, साथै राप्रपा नेपाल र एमालेबीचको अर्को गठबन्धनलाई हराउँदै जित हात पारे । यो अप्रत्यासित जित थियो । कांग्रेसभित्रको गहिरो अन्तरविरोध, केही नेताहरूको ‘महालक्ष्मी उपाध्याय (डीना) लाई जसरी पनि हराउने’ अभियान र एमालेका लागि मकवानपुरको मुख्य प्रतिद्वन्द्वीको रूपमा कमल थापालाई देखेर ‘सूर्य चिन्ह’ दिइने निर्णय दीपकबहादुर सिंहको पक्षमा वातावरण बन्ने अवस्था रह्यो । चुनावी वातावरणमा जनताले पार्टीभन्दा व्यक्ति हेर्न थालेका थिए र दीपकबहादुर सिंहलाई दोहोरिने, विवादास्पद र अवसरवादी उम्मेदवारहरूभन्दा केही हदसम्म ‘कम खराब’ विकल्पका रूपमा रोजे । तर पाँच वर्षको कार्यकालपछि दीपकबहादुर सिंहप्रति पनि जनगुनासो उस्तै छ जिल्ला विकासमा खासै योगदान नदिनु, स्थानीय जनस्तरमा उपस्थिति कमजोर हुनु र जनअपेक्षा अनुसार प्रस्तुत नहुनु ।

अब आगामी निर्वाचन २०८४ सालमा काँग्रेस एकीकृत भएर अघि बढेमा दीपकबहादुर सिंहको पुनः विजय कठिन देखिन्छ । त्यसमाथि, मकवानपुर–१ विशेषगरी शहरी क्षेत्र रहेको हुँदा यहाँको जनमत निकै सचेत र परिवर्तनमुखी बन्दै गएको छ । पछिल्ला वर्षहरूमा राजनीतिक दलहरूप्रति विश्वास घट्दो क्रममा छ र जनतामा वैकल्पिक नेतृत्वको खोजी तीव्र हुँदै गएको छ । यदि वर्तमान अवस्थाको निरन्तरता रहिरह्यो भने, यो क्षेत्रमा स्वतन्त्र वा नयाँ पार्टीका सक्षम, शिक्षित, जनमुखी उम्मेदवारको बलियो प्रभाव देखिन सक्छ । तसर्थ, मकवानपुर–१ अब केवल पार्टीगत गणितले मात्र जितिने क्षेत्र रहेन; यहाँको जनमत अब वैचारिक प्रतिबद्धता, व्यवहारिक प्रतिबद्धता र व्यक्तिगत छविमा आधारित बन्दै गएको छ । यदि उपयुक्त र नवनिर्माणको सपना बोकेको युवा उम्मेदवार उभिन्छ भने, मकवानपुर–१ परिवर्तनको नयाँ मिसाल बन्ने प्रवल सम्भावना रहेको छ ।

त्यस्तैगरी, नेकपा एमालेका नेताहरू, जसले अघिल्ला निर्वाचनमा गाउँपालिकादेखि बजारसम्म प्रभावशाली मत प्राप्त गरे, तिनको लोकप्रियता पनि घट्दै गएको छ । अझ सरकार प्रमुख केपी ओलीको लोकप्रियताको घट्दो ग्राफले एमाले प्रति जनसमर्थन नकारात्मक देखिन्छ । जुन २०८४ मा प्रष्ट देखिने सम्भावना प्रवल बन्दैछ । जनताले एमालेबाट अपेक्षा गरेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासजस्ता विषयहरूमा ठोस प्रगति देख्न पाएनन् । स्थानीय बजेटको प्रभावकारी उपयोग, पारदर्शिता र जनउत्तरदायित्वको खाँचो अझै खट्किएको छ । यसले गर्दा जनतामा एमाले नेतृत्वप्रति निराशा गहिरिँदै गएको छ । यस्तो अवस्थामा, नयाँ शक्तिहरू वा स्वतन्त्र उम्मेदवारहरूको उदय सम्भावित छ । विशेषतः युवापुस्ताले विगतमा गुमाएका अवसरलाई स्मरण गर्दै, यस्ता विकल्पहरूलाई प्राथमिकता दिने मनस्थिति बनाइरहेका छन् ।

यसै सन्दर्भमा, मकवानपुर क्षेत्र नं. १ (ख) को पछिल्लो चुनावी नतिजा उल्लेखनीय छ । यहाँबाट एकालाल श्रेष्ठको जित कुनै दलको संगठनात्मक बलभन्दा पनि नेपाली काँग्रेसभित्रकै आन्तरिक द्वन्द्वको परिणामस्वरूप सम्भव भएको थियो । यो क्षेत्र मुख्यतया बजार क्षेत्र भएको हुँदा यहाँका मतदाताहरू राजनीतिक सचेतनामा अग्रस्थानमा छन् । पछिल्लो समय यो क्षेत्र दलहरूको पकडबाट बाहिरिँदै गएको छ । सर्वसाधारण जनताको भावना बुझ्दा, अबको चुनावमा उनीहरू पार्टीको उम्मेदवारलाई मत नहाल्ने सोच बनाउँदैछन् । आफैं पार्टीका कार्यकर्ताहरूले समेत आफ्नै पार्टीलाई मत नहाल्ने अवस्था आएको छ । कांग्रेस, एमाले वा माओवादी तीनवटै परम्परागत दलहरू अब यो क्षेत्रको निर्णायक शक्ति होइनन् । यसको सट्टामा स्वतन्त्र उम्मेदवारहरू वा वैकल्पिक राजनीतिक शक्तिहरूको सम्भावना बढ्दो छ ।

मकवानपुर–२ क्षेत्र हाल झनै चाखलाग्दो बन्दै गएको छ । यहाँका जनताले विगतका निर्वाचनहरूमा सधैँजसो बिरोध खतिवडा जस्ता शक्तिशाली, स्थापित र पार्टीका मूल धारका नेताहरूलाई मतदान गर्दै आएका थिए । अघिल्लो निर्वाचनसम्म पनि खतिवडा सजिलै विजयी हुने नेतामा पर्दथे, तर पछिल्लो निर्वाचनमा जनताले परिवर्तनको संकेतस्वरूप युवा नेता महेश बर्तौलालाई समर्थन गरे र उनले खतिवडालाई पराजित गर्दै संसदमा प्रवेश पाए । बर्तौलाको जित केवल एक व्यक्तिको पराजय मात्र थिएन, यो स्थापित राजनीतिका विरुद्ध जनताको आक्रोश र नयाँ पुस्ताका नेतामाथिको भरोसाको परिणाम थियो । युवा, ऊर्जाशील र शालिन नम्र राम्रो वक्तत्व क्षमताका कारण महेश बर्तौलाले प्रारम्भिक चरणमै जनता माझ आफ्नो उपस्थितिको गहिरो छाप छोड्न सफल भए ।

संसद सदस्यको भूमिकाबाट सुरु भएको उनको यात्रा आज सत्ता नेतृत्व गरिरहेको दलको प्रमुख सचेतकको जिम्मेवारीसम्म पुगेको छ । यस्तो पृष्ठभूमिले उनलाई भविष्यमा प्रधानमन्त्री बन्न सक्ने सम्भावना भएको राजनीतिक विश्लेषकहरूको आँकलन समेत रहेको छ । तर, पछिल्लो समय बर्तौलाको लोकप्रियता खस्किँदो क्रममा देखिएको छ । प्रमुख सचेतक बनेपछि उनले पार्टी नेतृत्व र गृह मन्त्रालयसँग अत्यधिक नजिकिएको आभास आम जनताले गरिरहेका छन् । गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणमा उनले राजीनामा दिनु नपर्ने जस्ता तर्क प्रस्तुत गर्दै जनआवाजको बेवास्ता गर्नु र विपक्षी दलले उठाएका भ्रष्टाचारका सवाललाई ‘सस्तो लोकप्रियताको खेल’ भनेर डिसमिस गर्नुले जनताको विश्वासमा दरार ल्याएको देखिन्छ ।

एक समय युवाहरूले आशा र भरोसाका साथ हेरिरहेका बर्तौला, अहिले पार्टीका सबै निर्णयको बचाउकर्ता मात्र बनेको भान भइरहेको छ । आफ्नो क्षेत्रको विकासबारे जनगुनासोलाई उठाउनेभन्दा पनि पार्टीको अनुशरण गर्न तल्लिन देखिएका बर्तौलाप्रति युवाहरू खासगरी निराश छन् । जनताले आफूले जिताएको नेताबाट फरक सोच, फरक आचरण र जनमुखी दृष्टिकोणको अपेक्षा राखेका थिए, तर बर्तौला पुरानै शैलीको संरक्षणमा लागिपरेको आभासले उनलाई लोकप्रियताबाट टाढा लाउँदै लगेको छ । यसैले, मकवानपुर–२ अब पुनः एक निर्णायक मोडमा पुगेको छ, जहाँ जनताले अघिल्लो अनुभवका आधारमा गहिरो समीक्षा गर्दै अर्को वैकल्पिक नेतृत्वको खोजीमा लागेको संकेत देखिन थालेको छ ।

प्रदेश सभा क्षेत्रमा लामो समयदेखि छिन्तु र कुमारी मोक्तानजस्ता नेताहरू निर्वाचित हुँदै आएका छन् । तर, तीन दशक नजिकको अनुभव बोकेका यस्ता नेताहरूको कार्यक्षमता र जनप्रतिनिधित्वको शैलीप्रति अहिले आमजनता सशंकित देखिन्छन् । नीतिनिर्माणमा उनीहरूको मौनता, जनताको प्राथमिक समस्या समाधानमा उदासीनता र जनसंवादको अभावले गर्दा जनतामा तीव्र असन्तुष्टि पैदा भएको छ । प्रतिनिधिसभा वा प्रदेशसभामा तिनको उपस्थिति प्रायः नाम मात्रको देखिएको छ । अर्कोतर्फ, लवशेर बिष्टजस्ता नेताहरू जो नगरपालिकाको नेतृत्वमा सफल काम गरिसकेका थिए, तिनलाई पार्टीभित्रकै गुटगत राजनीतिका कारण पाखा लगाइयो । यो घटनाले स्पष्ट देखाउँछ कि नेकपा (माओवादी केन्द्र) अझै पनि ‘जनयुद्धको ऐतिहासिकता’ लाई नेतृत्व चयनको आधार मानेर, क्षमता र जनअपेक्षाभन्दा सीमित जातीय पहिचानका आधारमा प्राथमिकता दिने प्रवृत्तिमा छ । यस्तो प्रवृत्तिले आम मतदातामा निराशा थपिएको छ, विशेष गरी युवापुस्ता माझ ।

यही पृष्ठभूमिमा अहिलेका प्रदेश क्षेत्रहरू विशेषगरी ग्रामीण जनघनत्व भएका भूगोलहरू स्वतन्त्र उम्मेदवारहरू वा नयाँ दलहरूको लागि उपयुक्त राजनीतिक मञ्च बन्न थालेका छन् । पुराना दलहरूले सक्षम र विश्वसनीय अनुहार नल्याउने हो भने जनताले वैकल्पिक धार रोज्ने सम्भावना प्रवल देखिन्छ । काँग्रेस र एमालेले पनि आन्तरिक विवाद र क्षेत्रगत संरचनामा आधार नभएको टिकट वितरणको कारण जनगुनासो झेलिरहेका छन् । यस्तो अवस्थामा सशक्त स्वतन्त्र उम्मेदवार वा विचारधारामा स्पष्ट र युवा नेतृत्व बोकेका नयाँ दलहरू जनताको मन जित्न सक्छन् । तर यथार्थ के हो भने, माओवादी अझै पनि तुलनात्मक रूपमा ग्रामीण क्षेत्रमा लोकप्रिय छन् त्यो पनि तिनको ऐतिहासिक संघर्षका कारण । तर, यही लोकप्रियता टिकाइराख्न तिनले नवपुस्तालाई स्थान दिनुपर्ने, पुराना अनुहारहरूलाई विश्राम दिनुपर्ने र समावेशी नेतृत्व विकास गर्नुपर्ने स्पष्ट संकेत वर्तमान परिस्थितिले दिइरहेको छ ।

हेटौँडा उपमहानगरपालिकाको वर्तमान प्रमुख र उपप्रमुखप्रतिको जनगुनासो दिनप्रतिदिन बढ्दो छ । नगरवासीहरूको प्राथमिक आवश्यकता सडक विस्तार, ढल र फोहोर व्यवस्थापन, शिक्षाको गुणस्तर सुधार र अस्पताल सुधार जस्ता जीवनसँग गाँसिएका विषयमा ठोस र देखिने काम गर्ने अपेक्षामा नेतृत्व पूर्णरूपमा चुकेको देखिन्छ । नगर प्रमुखको कार्यशैलीप्रति जनताले बारम्बार गरेको आलोचना यथार्थमा आधारित छ । उनी ‘विकास निर्माण’ भन्दा ‘उद्घाटन र भाषणमुखी’ व्यवहारमा सीमित देखिन्छन् । सडक विस्तारको विषयमा त नगरप्रमुखको धारणा दोधारपूर्ण देखिन्छ । कहिले ‘भत्काउनै पर्छ’ भनेर अडान राख्ने, त कहिले एसियाली विकास बैंकद्वारा आयोजना गरिएको छलफलमा सडक विस्तारको विरोधमा स्पष्ट उभिने यस्तो अदूरदर्शी र अनिश्चित धारणा नेतृत्वविहीनताको प्रमाण हो । विकासमा निरन्तरता ल्याउने, योजना बनाउने, समस्याको दीर्घकालीन समाधान खोज्ने कुनै ‘भिजन’ नदेखिनु आफैँमा गम्भीर प्रश्न उठाउने विषय हो ।

नगरभित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । मुख्य सडकदेखि आवासीय क्षेत्रसम्म जामको समस्या दिनदिनै बढ्दो छ । तर यसतर्फ नगर नेतृत्वको कुनै ठोस पहल देखिँदैन । ‘बालमैत्री पालिका’ भन्ने घोषणाको प्रचार व्यापक छ, तर न बालश्रमिकको पुनःस्थापना भएको छ, न श्रमशोषण रोकिने व्यवहारिक रणनीति बनेको छ । यो कर्मविहीन घोषणावादी प्रवृत्ति अब नगरवासीका लागि वाक्कदायक बन्दै गएको छ ।

अझ गम्भीर कुरा त के छ भने, छिमेकी जिल्ला चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले अस्पताल, सहर व्यवस्थापन र जनसरोकारका काममा राष्ट्रियस्तरमै चर्चा बटुलिरहँदा, हेटौँडा उपमहानगरपालिका भने घोषणात्मक विकास र गुटगत नियुक्तिमा सीमित भएको छ । उपमहानगरका अधिकांश वडा अध्यक्ष कांग्रेसका भए पनि उपप्रमुखको कार्यसम्पादनमा नगरप्रमुखको पिछलग्गु भएर, सशक्त स्थानीय नेतृत्व दिने अवसर गुमाइरहेका छन् । यस्तो भूमिकाले कांग्रेसलाई पनि बराबरी रूपमा आलोचनाको घेरामा ल्याएको छ । आजको स्थानीय राजनीतिमा जनताले घोषणाले होइन, कामले आफूलाई छोएको अनुभव गर्न खोजिरहेका छन् । त्यसैले अबको स्थानीय निर्वाचनमा मतदाता केवल दलगत निष्ठाले होइन, नेतृत्वको कार्यसम्पादन र दृष्टिकोणले मत दिने सम्भावना प्रवल छ । यस्तो सन्दर्भमा स्वतन्त्र उम्मेदवार वा नयाँ विचार बोकेका नेतृत्वले हेटौँडाको राजनीतिक स्पेसमा प्रवेश गर्ने बलियो सम्भावना बनिरहेको छ ।

यो केवल स्थानीय भावनाको कुरा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा पनि जब जब पुराना दलहरूले जनअपेक्षा पुरा गर्न सकेनन्, तब जनताले वैकल्पिक शक्ति रोजेका छन् । भारतको दिल्लीमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीको उदय त्यही कारणले भएको हो जब कांग्रेस र भाजपाले जनअपेक्षा पूरा गर्न सकेनन् । दिल्लीका नागरिकहरूले शिक्षाको गुणस्तर, स्वास्थ्य सेवा सुधार, भ्रष्टाचार नियन्त्रणजस्ता एजेन्डामा केन्द्रित नयाँ शक्ति रोजे । त्यस्तैगरी, फ्रान्समा इम्यानुएल म्याक्रोनले परम्परागत पार्टीहरूलाई चुनौती दिँदै नयाँ राजनीतिक शक्ति बनाइराष्ट्रपति बने ।

इटलीमा फाइभ स्टार मुभमेन्टले पनि जनतामा निराशा छाउँदा नयाँ विचार र साहसका साथ चुनाव जितेको थियो । स्पेनमा पोडेमोस नामको पार्टीले परम्परागत समाजवादी र दक्षिणपन्थी दलहरूको विकल्पका रूपमा उदय गरेको थियो । अमेरिकामा बर्नी स्यान्डर्स वा इन्डिपेन्डेन्ट क्यानडिडेटहरूले पनि स्थापित दलहरूलाई चुनौती दिएका छन् । यी सबै दृष्टान्तले देखाउँछन् कि जनतामा जब निराशा चुलिन्छ, जब उनीहरूले अनुभूत गर्छन् कि पुराना नेताहरूबाट केही हुनेवाला छैन, तब उनीहरू नयाँ सपना, नयाँ सोच र नयाँ अनुहार रोज्न तयार हुन्छन् ।

जनता निराश हुँदा चुनावको प्रकृति पनि बदलिन्छ । मतदाता केवल चुनावी घोषणापत्र हेरेर होइन, विगतको ट्र्याक रेकर्ड, प्रतिवद्धता, इमानदारिता र विचारको स्पष्टतालाई प्राथमिकता दिन्छन् । नेपालमा पनि पछिल्ला स्थानीय निर्वाचनहरूमा स्वतन्त्र उम्मेदवारहरूको विजयले जनतामा परिवर्तनको चाहना रहेको संकेत दिएको छ । मकवानपुरमा पनि यस्तै संकेतहरू देखा पर्न थालेका छन् । खासगरी युवा मतदाता वर्ग, जसले विगतमा परम्परागत दलहरूलाई भरपूर समर्थन गरेका थिए, अहिले निराश छन् । उनीहरू अब मात्र पार्टी होइन, काम हेरेर मत दिने सोचमा उभिएका छन् ।

२०८४ सालको निर्वाचन केवल प्रतिनिधित्व परिवर्तन गर्ने होइन, विश्वास परिवर्तन गर्ने चुनाव हुनेछ । जनताले विकासको योजनाको दस्तावेज हेरेर होइन, त्यो कार्यान्वयन गर्ने नेतृत्वको आत्मविश्वास हेरेर मत दिनेछन् । उम्मेदवारको स्थानीय पहुँच, जनतासँगको संवाद र इमानदार छवि अहिलेको निर्णायक पक्ष हुने देखिन्छ । अब जनताले मत दिनुअघि हेर्नेछन् पार्टी होइन, उम्मेदवारको कर्म, दृष्टिकोण र प्रतिबद्धता । उनीहरू राजनीतिज्ञको अघिल्लो कार्यकाल स्मरण गर्नेछन् त्यहाँ उनले के गरे, के गरेनन् भन्ने हिसाब माग्नेछन् । यस्तो अवस्थामा पुराना अनुहारका लागि चुनाव जित्नु निकै कठिन हुनेछ ।

यदि दलहरूले यथास्थितिको राजनीति मात्र दोहो¥याए भने र नयाँ अनुहार, युवाको प्रतिनिधित्व र स्थानीय मुद्दाको प्राथमिकतालाई नजरअन्दाज गरे भने, उनीहरू पराजयको सामना गर्न सक्नेछन् । स्वतन्त्र उम्मेदवारहरू, जसले समुदायसँग संवाद गर्दै आएका छन्, समस्या बुझेका छन् र सशक्त एजेन्डा बोकेका छन्, तिनीहरूले जित्ने सम्भावना उच्च हुनेछ । समग्रमा हेर्दा, मकवानपुरको राजनीतिक भूमिकामा एक गहिरो मोड आउने संकेत देखिएको छ । यो मोड केवल नेताको होइन, जनचेतनाको रूपान्तरण हो । जब जनताको चेतना बदलिन्छ, तब राजनीति बदलिन्छ । अनि राजनीति बदलिएपछि, मुलुक बदलिन्छ । त्यसैले २०८४ सालको निर्वाचनले मकवानपुरको मात्रै हैन, नेपालको राजनीतिक भविष्यको दिशा तय गर्नेछ ।

Exit mobile version