Home अर्थ/व्यापार जापानबाट फर्किएका युवा व्यवसाय गर्न चाहन्छन्, वडाको असहयोग, छिमेकीको अवरोध

जापानबाट फर्किएका युवा व्यवसाय गर्न चाहन्छन्, वडाको असहयोग, छिमेकीको अवरोध

वडा असहयोग र स्थानीवासीको अवरोधबारे जानकारी दिनुहुँदै दामोदर अधिकारी ।

हेटौँडा : जापानमा १० वर्षको मिहिनेतपछि स्वदेश फर्किएर हेटौँडामा लगानी गरी रोजगारी सिर्जना गर्ने सपना बोकेका एक युवाले स्थानीय सरकारकै असहयोग र छिमेकीको अवरोधका कारण काम गर्ने वातावरण नपाएको गुनासो गरेका छन् । तर, यस विषयमा वडा अध्यक्षले भने आफूले सक्दो सहयोग गरेको र समस्या छिमेकीको असहमतिका कारण आएको जिकिर गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ का दामोदर अधिकारीले मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो दुखेसो पोख्दै चार्जिङ स्टेसनसहितको रिसोर्ट खोल्ने आफ्नो योजनामा वडा कार्यालयबाटै अवरोध भएको बताउनुभयो । जापानमा पसिना बगाएर कमाएको रकम आफ्नै ठाउँमा सदुपयोग गरी केही उदाहरणीय काम गर्ने उहाँको चाहना थियो । उहाँले प्रारम्भिक चरणमा चार्जिङ स्टेसनका लागि हेटौँडा उपमहानगरपालिका, नेपाल विद्युत प्राधिकरणलगायतका सबै सम्बन्धित सरकारी निकायबाट स्वीकृति प्राप्त गरेको र करिब २० लाख रुपैयाँ लगानी समेत गरिसकेको जानकारी दिनुभयो ।

तर, अहिले विभिन्न दलका नेताहरू र स्थानीय बासिन्दाहरूको असहयोगका कारण थप काम अगाडि बढाउन नसकेको उहाँले बताउनुभयो । ‘उपमहानगरपालिकाको प्रत्येक कोठामा चाहार्दा पनि काम गर्न सकिएन’, अधिकारीले दुखेसो पोख्दै भन्नुभयो, ‘मैले दुःख गरेर ल्याएको रकमको लगानी गर्न नपाउँदा असाध्यै निराश छु ।’ उहाँले लगानी गरेर स्थानीयहरूलाई रोजगारी दिने प्रस्ताव गर्दा पनि विभिन्न बहानामा काम गर्ने वातावरण नै नदिएको आरोप लगाउनुभएको छ । व्यवसायका लागि आवश्यक पर्ने सबै सरकारी प्रक्रियाहरू पूरा गर्दा पनि काम गर्न नपाएपछि आफू पूर्णतः निराश भएको र जिल्ला प्रशासन कार्यालयदेखि अन्य सबै सरकारी कार्यालयहरूमा धाउँदा पनि समस्या समाधान नभएको उहाँको गुनासो छ ।

यता, वडा नम्बर ९ का अध्यक्ष सुकराम केसीले भने दामोदर अधिकारीको भनाइमा आंशिक असहमति जनाउनुभएको छ । उहाँले आफूले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिदिएको र वडाबाट पूर्णरूपमा सहयोग गरेको दावी गर्नुभयो । वडाध्यक्ष केसी भन्नुभयो, ‘मैले उहाँ (दामोदर अधिकारी) ले नै भने अनुसार पटक–पटक पत्र दिएको छु । व्यापार गर्छु भन्दा राम्रो हो, विदेशबाट आएर यसो गर्छु भन्नुभयो मैले सक्दो सहयोग गरेको छु । अब पोल नै मैले गएर गाड्ने कुरो पनि भएन ।’

वडा अध्यक्ष केसीले मुख्य समस्या छिमेकीको अवरोध भएको औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘दामोदर अधिकारीको छिमेकीसँग पनि छलफल गरेको हो, मैले सम्झाएको पनि हो । तर, उहाँले काम गर्नुभन्दा पहिला कमसेकम छिमेकीसँग सोध्नु त पथ्र्यो, त्यो गर्नु भएनछ । सबै प्रक्रिया पूरा गरेपछि छिमेकीले अवरोध गरेका हुन् । अब त्यो भन्दा मैले के गर्न सक्छु ?’

Exit mobile version